बुटवल । नगरभित्र अव्यवस्थित ईरिक्सा संचालनको गुनासो आईरहेको बेला बुटवल उपमहानगरपालिकाले विना दर्ता सञ्चालनमा रहेका रिक्सालाई नियमन गरी कडाईकासाथ कारबाही प्रक्रियामा अगाडि बढ्ने तयारी गरेको छ ।
दर्ता र जाँचपास जस्ता आवश्यक प्रक्रिया पूरा गरेका १ सय ६९ ईरिक्सा चालकहरुलाई आईतबार संचालन अनुमतिपत्र वितरण गर्नेक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले श्रमजिवीको पक्षमा उपमहानगरले नीति ल्याएको उल्लेख गर्नु भयो । कुनै एक व्यक्ति वा व्यवसायीले रिक्सा थुपारेर शहरलाईनै अव्यवस्थित बनाउने नीतिभन्दा पनि एक श्रमजिवी एक मात्र रिक्साको अवधारणा अनुसार स्वरोजगारलाई प्राथमिकता दिइएको उहाँले उल्लेख गर्नु भयो । नगरप्रमुख पाण्डेय, उपप्रमुख सावित्रादेवि अर्याल, यातायात ब्यवस्था कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलसहित विभिन्न सरोकारवाला निकायहरुको प्रतिनिधिसहितको उपस्थितिमा अनुमतिपत्र वितरण गरिएको थियो ।
बुटवल उपमहानगरपालिकामा एक हजार ४ सय ४० ई रिक्सा संचालन गर्न सकिने व्यवस्था रहेको भन्दै नगरप्रमुख पाण्डेयले छिटोभन्दा छिटो आवश्यक मापदण्ड पूरा गरेरमात्र ईरिक्सा संचालन गर्न आग्रह गर्नु भयो। ई रिक्सा जथाभावी चलाउने, जथाभावी भाडा लिने र अनावश्यक व्यवहार गर्नेहरुलाई निगरानीमा राखिने समेत बताउनु भयो । उप्रमुख अर्यालले अनुगमनको पक्षलाई कडाईकासाथ लागू गरिएको बताउँदै सबैलाई नियम भित्र रहेर स्वरोजगारमा लाग्न आग्रह गर्नु भयो । प्रकाशित : २०८१ चैत्र १२ गते, मंगलबार