रामपुर, पाल्पा । नेपाल स्काउट लुम्बिनी प्रदेश सदस्य सुशीला गोदार र स्थानीय स्काउट रामपुरका संयोजक सागर श्रेष्ठले संयुक्त रूपमा स्काउट संरक्षक एबं रामपुर नगर प्रमुख रमण बहादुर थापा, नगर उपप्रमुख बाल कुमारी थापा र शिक्षा शाखा प्रमुख विकल काफ्लेलाई दिक्षित गरेको छ ।

दिक्षित कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले स्काउटले विद्यार्थीलाई नैतिकता र जिम्मेवारीसंगै परोपकारी बन्न सिकाउने साथै विपद र मानवीय संकटको समयमा सहायता र उद्दारको काम गर्ने भावनाको विकास गराउने बताउनुभयो । थापाले समृद्ध नगरपालिका निर्माणका लागि स्काउट आवश्यक रहेको भन्दै आगामी दिनमा हातेमालो गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

रामपुर नगरपालिकाका उपप्रमुख तथा प्रमुख स्काउट बाल कुमारी थापाले विद्यार्थीहरुलाई सेवाको भावनासंगै परोकारी काम गर्न उत्प्रेरित स्काउटले गराउने बताउनु भयो । उहाँले सबै विद्यालयमा स्काउट सञ्चालन गर्न आवश्यक रहेको भन्दै हरेक विद्यालयमा विद्यार्थीको संख्या बढाएर स्काउट सञ्चालन गर्नपर्नेमा जोड दिनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले स्काउट तटस्थ संस्था भएको भन्दै सबैले अपनत्व अनुभूति हुने गरि काम गर्न आग्रह गर्नुभयो ।

नेपाल स्काउटका लुम्बिनी प्रदेश सदस्य सुशीला गोदारले रामपुरको स्काउट प्रदेश मै गर्व गर्ने स्थानको रुपमा रहेको बताउदै शिक्षकहरुलाई दिक्षित गरि स्काउटको गतिविधिलाई थप चलायमान बनाउन नगरपालिकाले थप वातावरण वनाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा शिक्षा समितका सदस्य तथा दरैठाँटी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटाले विभिन्न विद्यालयका शिक्षकहरुको सक्रियताले रामपुरको स्काउट यो स्थान सम्म आईपुगेको भन्दै यसको उद्देश्य परिपूर्तिका लागि सबै लाग्नु पर्ने बताउनुभयो । रामपुर नगरपालिका भित्रका ११ विद्यालयमा स्काउट कार्यकंम संचालन भएको छ ।

उपप्रमुख तथा प्रमुख स्काउट बाल कुमारी थापाको अध्यक्षतामा, नगर प्रमुख तथा संरक्षक रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा स्थानीय स्काउटका सदस्य सचिव विकल काफ्लेको स्वागत तथा शिक्षा शाखाका प्राविधिक सहायक अनिता कुँवरले सञ्चालन गर्नुभएको थियो ।

प्रकाशित मिति : शुक्रबार, चैत ८, २०८१