एवत सारु
फोक्सिङ्गकोट, पाल्पा । रम्भा गाउँपालिका फोक्सिङ्गकोट पाल्पाका महिलाहरुको लागि रानीबास फोक्सिङ्गकोटमा १० दिने पञ्चेबाजा बजाउने तालिम शुरु भएको छ ।
ग्रामीण शिक्षा तथा वातावरण केन्द्र रिड नेपालको आयोजनामा सिकाई प्रवर्धन परियोजना अन्तर्गत रम्भा गाउँपालिका २ कोटथरका महिलाहरुलाई पन्चेबाजा तालिम दिन थालिएको परियोजनाका व्यवस्थापक कपिल पुरीले बताउनु भयो । तालिमको पहिलो दिनमा महिलाहरुलाई पञ्चेबाजा समेत प्रदान गरिएको छ । कार्यक्रममा रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुन तथा परियोजनाका व्यवस्थापक कपिल पुरीले महिला अभिभावकहरुलाई सहनाई, ढोलक, दमाहा, नरसिंहा, टेम्कु, झ्याली, बिकुल लगायतका बाजाहरु प्रदान गर्नु भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले पन्चे बाजा हस्तान्तरण गर्दै तालिमले समयको मागलाई स्थान दिएको र महिला सशक्तीकरणका साथै आय आर्जनमा टेवा पुग्ने हुनाले सम्पूर्ण महिला दिदीबहिनीहरुले यस कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्ने विश्वास लिएको बताउनु भयो ।
सानाहुँगी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका आमाले घरमा अतिरिक्त आम्दानी गर्ने लक्ष्यका साथ गठन गरिएको कृषक समूहका सदस्यहरुलाई पञ्चेबाजा सम्बन्धी तालिम दिने योजना अनुरुप तालिम सञ्चालन गर्न गरिएकोे सिकाई प्रवर्धन परियोजनाका तालिम प्रमुख कृष्ण कुवँरले बताउनु भयो । तालिममा स्थानीय रोशन परियार तथा गनबहादुर सारुले बाजा तथा सहना बजाउने तालिम दिनु भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीका आमाहरुलाई आय आर्जनमा सहयोग गर्ने कार्यक्रम अनुरुप तालिम दिन लागिएको परियोजनाका जीविकोपार्जन श्रोत व्यक्ति भूमिका सिंजापतीले बताउनु भयो ।

विगत ३ वर्ष देखि रम्भा गाउँपाकिलामा सिकाई प्रवर्धन परियोजना भएपछि पालिका भरि १५ वटा अभिभावकहरुको समूहबनाई आय आर्जनका कार्यक्रम सञ्चालन गरिएको छ । परियोजनाले महिलाहरुलाई कृषि तालिम दिने, ब्युटी पार्लर तालिम दिने, सिलाई मेशिन र तालिम दिने, आवश्यक वस्तु उपलब्ध गराउने, समूह परिचालन गर्ने लगायतका विषयमा कार्य गर्दै आएको छ ।
यस प्रकारको तालिमले लोक संस्कृतिको जगेर्ना र प्रवर्धन हुनुका साथै महिलाहरुको आय आर्जनमा टेवा पुग्ने रम्भा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले बताउनु भयो । विद्यार्थीलाई नियमित विद्यालय पठाउन, आवश्यक सामग्री उपलब्ध गराउन यस कार्यक्रमले महिला अभिभावकलाई सहयोग पुग्ने रम्भा गाउँपालिका शिक्षा शाखा प्रमुख मीनादेवी आचार्यले बताउनु भयो ।
करिब १ लाख १५ हजार पर्ने बाजा खरिद गर्न सिकाई प्रवर्धन परियोजनाबाट ५० प्रतिशत , रम्भा गाउँपालिका बाट ३५ प्रतिशत र महिला समूहबाट १५ प्रतिशत रकम उपलब्ध गराईएको थियो । प्रकाशित मिति शनिबार, चैत ९, २०८१