बुटवल । सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै नेपाल नगरपालिका सङ्घले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई देशभरका नगरपालिकामध्येबाट उत्कृष्ट पालिकाको रुपमा पुरस्कृत गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सङ्घको सिद्धार्थनगरलाई पुरस्कृत गरेको हो । सङ्घको ३२औँ स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धार्थनगर प्रमुख इश्तियाक अहमद खाँ र उपप्रमुख उमा अधिकारीलाई उत्कृष्ट नगरपालिका पुरस्कार, २०८१ बाट सम्मान गर्नु भयो ।

सङ्घले उक्त विधामा प्रत्येक वर्ष देशभरका नगरपालिकामध्ये उत्कृष्टलाई पुरस्कृत गर्दै आएको छ । आव २०८०/८१ मा सङ्घले प्रदान गर्ने पुरस्कार प्राप्त गर्न पाउँदा खुसी लागेको सिद्धार्थनगरका प्रमुख खाँले बताउनु भयो । सङ्घले नगरपालिकाहरूको विभिन्न सूचक हेरेर पुरस्कार प्रदान गर्ने गर्छ । त्यसका आधारमा सिद्धार्थनगरलाई उत्कृष्ट घोषणा गरिएको हो । सिद्धार्थनगर प्रमुख खाँले सबैको मेहनत र योगदानले नगरपालिका उत्कृष्ट भएको भन्दै नगरवासीलाई धन्यवाद दिनु भयो ।

सिद्धार्थनगरले मुलुकभरका नगरपालिकालाई पछि पार्दै ८५ प्रतिशत अङ्क प्राप्त गरेको नगरपालिका सङ्घले जनाएको छ । सहरी योजना, यातायात व्यवस्थापन र खानेपानीमा पनि नगरपालिकाले उत्कृष्ट कार्यसम्पादन गरेको जनाइएको छ ।

प्रकाशित मिति शुक्रबार, चैत ८, २०८१