तानसेन, पाल्पा । नेपाल रेडक्रस सोसाइटी शाखा पाल्पाको ४७ औं वार्षिक साधारणसभा पाल्पाको तानसेनमा सम्पन्न भएको छ ।

सभाको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले उद्घाटन गर्दै रेडक्रस पाल्पाले मानवहितमा गरेका कामहरुको चर्चा गर्नु भयो । उहाँले लामो सघर्ष र मिहिनेत पछि ब्लड बैक सञ्चालनको अन्तिम तयारी भईररहेकोमा खुशी व्यक्त गर्नु हुदै आपत विपतमा रेडक्रस पर्यवाची शब्द नै भएकाले रेडक्रसलाई सबैपक्षबाट आवश्यकता अनुसार सहयोग गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा शाखाका मन्त्री केशवराज नेपालले वार्षिक प्रतिवेदन पेश गर्दै पाल्पामा २०२७ सालमा रेडक्रसको स्थापना भएदेखी नै मानव सेवाका कामहरु गर्दै आएको बताउनु भयो । मन्त्री नेपालले रेडक्रस पाल्पाले ब्लड बैंक सञ्चालनको लागि आर्थिक सहयोग जुटाउन यशस्कर सदस्यको लागि १ लाख र विशिष्ट सदस्यको लागि २५ हजार शुल्क तोकिएको बताउनु भयो।

पाल्पा शाखा अन्तर्गत १९ वटा उपशाखा, ५ जना यशस्कर सदस्य, ७६ जना विशिष्ट सदस्य, १ हजार ४ सय ९० जना आजिवन सदस्य, १ सय ८३ जना साधारण सदस्य रहेको जानकारी गराउनु भयो । यस्तै जुनियर तथा युवा रेडक्रस सर्कल ८३ वटा तथा जुरेस र युरेस सदस्य संख्या ३ हजार ६ सय २९ जना समेत उल्लेख गर्नु भयो । उहाँले रेडक्रस पाल्पाले गर्ने भावी कार्यक्रमका बारेमा समेत जानकारी गराउनु भएको थियो।

कार्यक्रममा कोषाध्यक्ष सन्तोष खनालले आर्थिक बर्ष ०८१÷०८२ को १ करोड ६८ लाख ६० हजारको आय व्यय, तथा आगामी आर्थिक बर्षको लागि ८२ लाख ७८ हजार ४ सय बराबरको अनसमानित आय–व्यय प्रस्तुत गर्नु भयो । कार्यक्रममा रेडक्रस पाल्पाका सभापति बाबुराम कार्कीले ‘म सञ्चालन गर्छु मेरो ब्लड बैंक’ अभियानलाई पुरा गर्न सिङ्गो कार्यसमिती सक्रिय भएर लागेको बताउनु भयो । व्लड बैक सञ्चालनको लागि अझै पनि पर्याप्त रकम संकलन हुन नसकेकाले सबैलाई सहयोग गर्न सभापती कार्कीले अनुरोध गर्नु भयो।

पाल्पामा ३ वटा ठूला अस्पतालहरु रहेकाले दिनहुँ ब्लडको आवश्यकतालाई परिपुर्ती गर्ने गरी सञ्चालित उक्त ब्लड बैक सञ्चालनको लागि आवश्यक सरसमान खरिदको लागि तानसेन नगरपालिकाबाट टेण्डर समेत भईसकेको छ । अब एक महिना सम्ममा रेडक्रस भवनमा सञ्चालन हुनेछ भने लायन्स धर्मशाला नजिकै ब्लड बैकको लागि भवन निर्माणको काम शुरु भएको छ ।

कार्यक्रममा निवर्तमान् सभापति बुद्धि प्रसाद शर्मा, विशिष्ट अतिथी, मेघराज पौडेल शर्मा, रैनादेवी छहरा उपशाखाका सभापति काशीराम पौडेल र मणिमुकुन्द उपशाखाका सभापति शकुन्तला बज्राचार्य, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले रेडक्रस पाल्पाले गरेका सेवा तथा कार्यहरुको बारेमा चर्चा गरेका थिए । शाखा सभापति बाबुराम कार्कीको अध्यक्षता, उपाध्यक्ष भिमसेन कार्कीको स्वागत र शाखा अधिकृत विनोद भारतीको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति : शुक्रबार, चैत ८, २०८१