तानसेन, पाल्पा । छात्राहरु महिनावारी भएका बेलामा पनि विद्यालयमा नियमित होउन भन्ने उद्देश्यका साथ पाल्पा जेसिजले मोहन कन्या मावि तानसेन पाल्पामा अध्ययनरत छात्राहरुलाई सुरक्षित महिनावारीका लागि आवश्यक सामग्री वितरण गरेको छ ।
जेसिजका पदाधिकारीहरुले विद्यालयमै पुगेर सेनेटरी प्याड, साबुन, बाल्टीन जस्ता आवश्यक सामग्री वितरण गरेको हो । कार्यक्रममा छात्राहरुलाई प्याड वितरणसँगै तानसेन नगरपालिका स्वास्थ्य शाखाकी विजु जर्घाले महिनावारी, सरसफाइ, प्याडको प्रयोग र फाइदा, महिनावारीमा पोषणयुक्त खानेकुराका विषयमा जानकारी गराउनु भएको थियो ।
महिलाहरुका लागि महिनावारीको अवधि अत्यन्त पिडादायी हुने भएकाले उनीहरुलाई सहज होस् र त्यस्तो अवस्थामा पनि नियमित विद्यालय आउन सकुन भनेर प्याड वितरणसँगै शिक्षा प्रदान गरिएको जेसिज वर्ष २०२५ का अध्यक्ष जेसी विवेक काजी शाक्यले बताउनु भयो । उहाँले विद्यार्थीहरुमा नेतृत्व क्षमता विकासका तालिमहरु आवश्यक परेमा जेसिजले सहयोग गर्ने समेत बताउनु भयो ।
सुरक्षित महिनावारीका लागि आवश्यक सामग्री ग्रहण गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले जेसिजले विद्यार्थीहरुप्रति देखाएको सहयोग र सद्भाव प्रशंसनिय रहेको बताउनु भयो । उहाँले छात्राहरुलाई महिनावारीका सामग्री दिनुको साथै सोको बारेमा ज्ञान प्रदान गर्नुले महिनावारीका बेलामा पनि नियमित विद्यालय आउन सक्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले आफु अध्यक्ष रहुन्जेल विद्यालयबाट एसइई परीक्षामा ए प्लस ल्याउने विद्यार्थीहरुका लागि पुरस्कार स्वप एक लाख दिने समेत बताउनु भयो ।
विद्यालयका प्रअ ज्ञवालीले महिनावारी व्यवस्थापनका लागि शिक्षा र आवश्यक सामग्रीले सघाउ पुर्याउने विश्वास व्यक्त गर्नु भयो। महिनावारीको बेला छात्राहरुलाई सरसफाइको झनै आवश्यकता पर्ने भएकाले स्वास्थ्य समस्या कम गर्न यसले सहयोग पुग्ने उल्लेख गर्नु भयो । जेसी अध्यक्ष विवेककाजी शाक्यको अध्यक्षता, कार्यकारिणी उपाध्यक्ष जेसी विजय कार्कीको स्वागत तथा जेसी सुनिल चापागाईको आस्थावाचन र महासचिव गणेश पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।