बुटवल । सञ्चार माध्यमहरुमा अवसर र सम्भावको खोजी गर्ने लक्ष्यकासाथ यही शुक्रबारदेखि दुई दिनसम्म बुटवलमा दोस्रो लुम्बिनी मिडिया सम्मेलन हुने भएको छ ।

प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले पत्रकारिताका वरिष्ठ व्यक्ति र विज्ञहरु सहभागी गराएर गर्न लागेको सम्मेलनमा सञ्चार माध्यमहरुका समस्या र चुनौतीहरु सम्बन्धी वृहत अन्तरक्रिया गरिने जनाएको छ । “परम्परागत मिडियाः आजको अवस्था, भोलिको बाटो” विषयक छलफल सत्रमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया र अन्नपूर्ण मिडिया नेटवर्कका रामेश्वर थापाको प्रस्तुती रहनेछ।

त्यस्तै छापा माध्यम, किन र कसका लागि ? भन्ने विषयमा आर्थिक अभियान दैनिकका प्रधान सम्पादक मदन लम्साल र सौर्य दैनिकका प्रधान सम्पादक बोधराज त्रिपाठीको प्रस्तुती रहने छ । सम्मेलनमा ‘के अनलाइन पत्रकारिता सधैका लागि हो ?’ भन्ने विषयको छलफलका लागि अनलाइन खवरका धर्मराज भुसाल र बाह्रखरी मिडियाका प्रतिक प्रधानले प्रस्तुती राख्ने कार्यतालिका रहेको छ ।

सातवटा सत्रमा विभाजन गरीएको कार्यक्रममा ‘किन फस्टाउन सकेन विज्ञापन बजार ?’ भन्ने विषयको छलफलमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको प्रस्तुती रहनेछ भने ‘अनेक संस्थाः नियमन कि नियन्त्रण ?’ भन्ने विषयमा नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियार, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्का र गीत संगीत रोयल्टी संकलन समाजका सुरेश अधिकारीले प्रस्तुती राखिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो।

सम्मेलनको सातौं सत्रमा “सम्बन्धः पत्रकार र पत्रकार महासंघको : के भयो ? के हुँदैछ ?” भन्ने विषयको छलफलमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, पुर्व अध्यक्ष विपुल पोखरेल र दैनिक लुम्बिनीका सम्पादक शेरबहादुर केसीको प्रस्तुती रहने प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुँवरले जानकारी दिनु भयो ।

संघका उपाध्यक्ष विष्णु भुसालले यो मिडिया सम्मेलनले सञ्चारमाध्यमहरुको विद्यमान अवस्था, अव गर्नुपर्ने काम र भावी कार्यदिशा तय गर्ने गरी ठोस कार्ययोजना बनाउने भएकोले मिडियाको भविष्यका लागि कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्नु भयो।