प्रेम बगाले
बगनासकाली, पाल्पा । बगनासकाली गाउँपालिका पाल्पाले पाल्पा लाकौल आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरेको निःशुल्क आँखा शिविरमा ४ हजार ४ सय ३ जना सर्वसाधारणले सेवा लिएका छन् ।

गाउँपालिका भित्रका १० वटा विद्यालय केन्द्रमा चलेको आँखा शिविरमा शिविरमा विद्यार्थी, जेष्ठ नागरिक र अन्य उमेर समूहका नागरिकले सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणीराम अधिकारीले बताउनु भयो । सेवा लिनेमा एक हजार भन्दा बढी जेष्ठ नागरिक रहेकामा ७३ जनालाई मोतिबिन्दुको तत्कालै अप्रेसन गर्नु पर्ने भएको अधिकारीले जानकारी दिनु भयो ।

उनीहरु मध्ये १९ जनाको सोमबार अप्रेसन भएको र बाँकीको चैत्र २० गते गरिनेछ। शिविरमा २ हजार २ सय ७८ जना विद्यार्थीले सेवा लिएका छन् । जस मध्ये ८१ जनालाई आँखाको दृष्टिदोषका कारण पावर चस्मा सिफारिस गरिएको थियो । शिविरमा अन्य ३ सय ९१ जनालाई पनि आँखाको पावर अनुसार निःशुल्क चस्मा वितरण गरिएको छ । बिरामीहरूलाई औषधिसमेत निःशुल्क वितरण गरिएको थियो । चालु आर्थिक वर्षको बजेटमा रकम विनियोजन गरेर पालिका भित्रका नागरिकको आँखाको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताउनु भयो ।

प्रकाशित मितिस् मंगलबार, चैत ५, २०८१