तानसेन, पाल्पा । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियुको नेतृत्व चयनका लागि भईरहेको मतदान अन्तर्गत पाल्पाका २ वटा क्याम्पसमा पनि मतदान जारी छ ।

विहान ८ बजेदेखी त्रिभुवन बहुमुखी क्याम्पस तानसेन र शहिद बहुमुखी क्याम्पस रामपुरमा निर्वाचन भइरहेको हो । यहाँ सौहार्दवपूर्ण वातावरणमा निर्वाचन भइरहेको सम्बन्धित क्याम्पसले जनाएका छन् ।

तानसेनको त्रिभुवन बहुमुखी क्याम्पसमा एक हजार ८ सय ९४ जना मतदाता विद्यार्थी रहेका छन । जहाँ कुल १९ पदका लागि निर्वाचन हुँदैछ । १० पदमा प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन हुनेछ । यस्तै ९ पदमा भने समानुपातिक मतबाट नेतृत्व चयन हुनेछ । प्रत्यक्षतर्फ अध्यक्ष, सचिव, कोषाध्यक्षसहित १० पदमा नेतृत्व निर्वाचित हुने छन् । यस्तै समानुपातिक उम्मेदवारका लागि संगठनलाई मत दिनुपर्ने प्रावधान रहेको छ । संगठनले पाएको मतको आधारमा स्ववियुमा प्रतिनिधित्व हुने निर्वाचन प्रमुख जीवन बहादुर थापाले बताए ।

निर्वाचन शान्तिपूर्ण भईरहेको क्याम्पस प्रमुख टंक प्रसाद पन्थले बताउनु भयो । तानसेनको ४ बुथबाट मतदानको काम भईरहेको छ । त्रिभुवन बहुमुखी क्याम्पसमा नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तीकारी र अनेरास्ववियू समाजवादी चुनावी प्रतिष्प्रर्धामा रहेका छन । तानसेनमा २०६५ साल अर्थात १६ बर्ष पछि निर्वाचन भएको हो ।

शहीद बहुमुखी क्याम्पसमा प्रत्यक्षतर्फ नेपाल नेविसंघ, अनेरास्ववयिु र अनेरास्वववियु क्रान्तीकारीको संयुक्त प्यानल चुनावी प्रतिस्पर्धामा छन् । शहीद बहुमुखी क्याम्पस रामपुर, पाल्पामा स्ववयिु निर्वाचनमा १५ जना स्ववयिु पदाधिकारी मध्ये ८ पद प्रत्यक्षबाट र ७ पद समानुपातिकबाट निर्वाचित हुनेछन् । यहाँ ७ सय १५ जना मतदाता रहेका छन् । पाल्पाका पाँच क्याम्पस मध्ये दर्छा क्याम्पस, उद्बुद्ध क्याम्पस र माण्डव्य बहुमुखी क्याम्पसमा अनेरास्ववियुको नेतृत्वमा स्ववियु सर्वसम्मत निर्वाचित भइसकेको छ ।

प्रकाशित मितिस् मंगलबार, चैत ५, २०८१