तानसेन, पाल्पा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षामा पाल्पाबाट ४ हजार ९ सय १० जना विद्यार्थीले परीक्षामा सहभागी हुने भएका छन् ।
जसमा छात्र २ हजार ३ सय ५८ र छात्रा २ हजार ५ सय ५२ जनाले रजिष्ट्रेशन भरेको शिक्षा विकास तथा समन्वय ईकाइले जनाएको छ । जिल्लाका १९ संस्थागत र १ सय २० सामुदायिक विद्यालयका विद्यार्थीहरुले यस वर्षको परीक्षा दिदैंछन् । जिल्लामा सबै भन्दा कम एक सय जना चन्द्र मावि चापपानी केन्द्र र सबै भन्दा बढी ३ सय ५० दरैठाँटी मावि रामपुर केन्द्रबाट परीक्षार्थी सहभागी हुँदै छन् ।
यसै वीच यही चैत ७ गतेदेखि ७ देखि १९ गतेसम्म सञ्चालन हुने एसइई परीक्षाको सम्पूर्ण तयारी पाल्पामा पुरा भएको ईकाइका प्रमुख प्रेमराज खरेलले जानकारी दिनु भयो । उहाँले परीक्षा केन्द्र, केन्द्राध्यक्ष तोक्नेदेखि प्रश्न पत्र र उत्तरपुस्तिका सम्बन्धित स्थानमा पुर्याउने काम सकिएको बताउनु भयो ।
परीक्षाको लागि २६ वटा केन्द्र निर्धारण गरि २६ जना केन्द्राध्यक्ष, ३० जना सहायक केन्द्राध्यक्ष, २ सय ४६ निरीक्षक, ५० जना परीक्षा सहायक, ९८ जना विद्यालय सहयोगी र ३ सय ९० जना सुरक्षाकर्मी परिचालन गरिएको शिक्षा विकास तथा समन्वय ईकाइका परीक्षा शाखाका प्रमुख बमबहादुर थापाले जानकारी दिनु भयो ।
आवश्यक शान्ति सुरक्षाका साथ परीक्षा सञ्चालन र व्यवस्थापन तथा अनुगमन गरर्न हरेक जिल्लाको प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समिति समेत गठन भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।
प्रकाशित मिति : सोमबार, चैत ४, २०८१