गुल्मी । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा. चन्द्र भण्डारीले अब पुराना पुस्ताका नेताहरुबाट देश नबन्ने दावी गर्नु भएको छ ।
नेपाली कांग्रेस गुल्मी क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै नेता भण्डारीले अहिलेका शीर्ष नेताहरूबाट देश नबन्ने दाबी गर्नु भएको हो।
उहाँले पुराना पुस्ताका नेताहरूलाई सम्मानजनक रुपले विस्थापित गरी आफूहरुले देशलाई निकास दिन लागि परेको बताउनु भयो ।
नेता भण्डारीले अति विशिष्ट पदाधिकारीहरूको सेवा सुविधा घटाउनुपर्ने समेत बताउनु भयो । उहाँले देश आर्थिक संकटमा गइरहेका बेला विशिष्ट पदाधिकारीको सेवा सुविधा बढाउने प्रस्ताव स्वीकार्य नहुने स्पष्ट पार्नु भयो । उहाँले विशिष्ट व्यक्तिका सेवासुविधा कटौती गरेर जनताको सुविधा बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य विष्णु सापकोटा, कांग्रेसका प्रदेश उपसभापति भुवन श्रेष्ठ, जिल्ला सभापति तथा रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी लगायतका नेताहरूले केन्द्रीय नेताहरू सुध्रिनुपर्ने र आम कार्यकर्ता निराश नभई खबरदारी गरिरहनुपर्नेमा जोड दिएका थिए। प्रकाशन मिति २०८१ चैत्र २ शनिबार