तानसेन, पाल्पा । नेपाली काँग्रेस पाल्पाले आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्दै उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नयाँ सहरी आयोजनालाई व्यवस्थित गर्ने गरी आफ्नो मन्त्रालय अगाडि बढेको बताउनु भएको छ ।
उहाँले शिक्षा, स्वास्थ्य, रोजगार र व्यावसायिक क्षेत्रको सुधारमा सरकार योजना बनाएर अघि बढिरहेको पनि उल्लेख गर्नु भयो । मन्त्री सिंहले स्वदेशमा सीप विकास, रोजगारीका अवसर सृजना गर्दै युवालाई स्वदेशमा बस्ने वातावरण बनाउने पक्षमा काम भइरहेकाले देश बनेन भनेर चिन्तित हुनुपर्ने अवस्था नभएको समेत दाबी गर्नु भयो ।
लामो समय सरकारले स्थायित्व नपाउँदा धेरैमा निराशा छाएको भन्दै उनले वर्तमान सरकारले विकास निर्माण र जनताको आवश्यकताअनुसार काम गर्ने प्रतिबद्धता जनाउनु भयो । यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बहुमत प्राप्त गरेर मात्र सरकार स्थिर नरहने भन्दै नेताहरूले चरित्र परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले काँग्रेस महाधिवेशन हुने र नहुने तल्लो तहमै निर्भर रहेको उल्लेख गर्नु भयो।
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले जनतामा निराशा छाएकाले त्यसलाई चिर्न काँग्रेसको काँधमा जिम्मेवारी आएको बताउनु भयो । काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेश सांसद वीरबहादुर रानाले जनतामा असन्तुष्टि पैदा भएकाले त्यसतर्फ पार्टी नेतृत्वले ध्यान दिनुपर्ने उल्लेख गर्नु भयो ।