विष्णु जिसी
झडेवा, पाल्पा । आफ्ना सदस्यहरुमा वित्तीय योजनाहरू तथा वित्तीय निर्णयहरू गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विजय लघुवित्त वित्तिय संस्था कसेनी शाखाले माथागढीको झडेवामा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रममा केन्द्रीय कार्यालयका अनुगमन अधिकृत दिपेन्द्र प्रसाद चौधरीले बचत, कर्जा, वित्तिय लक्ष्य, वित्तिय अनुशासन, विद्युतिय वित्तिय सेवा, जोखिम व्यवस्थापनलगाएतका विषयमा सहजिकरण गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि माथागढी गाउँपालिका वडा नं। ३ का वडाध्यक्ष तेज बहादुर घर्तीमगरले संस्थाले लगानीको अनुगमन गर्नुपर्ने, पालिकाले दिएको उत्पादनमा आधारित अनुदानमा जोडिनुपर्ने, वित्तिय जोखिम संग जोगिनुपर्ने बताउनुभयो । उहाँले विभिन्न योजना बनाएर मात्र ऋण लिनुपर्ने र ऋण तिर्नका लागि वैकल्पिक योजना समेत बनाएर काममा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि माथागढी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष शंकर दर्लामीले लगानी गर्दा वडाको समेत सिफारिस चाहिने हुँदा वडा समेत जिम्मेवार हुनुपर्ने, कर्जा लिँदा उद्देश्य संग सम्बन्धित काममा मात्र प्रयोग गर्नुपर्ने, समयमै किस्ता बुझाएर आफ्नो ऋण घटाउँदै जानुपर्ने विषयमा जोड दिनुभयो ।
कार्यक्रममा माथागढी प्रहरी चौकी प्रमुख शम्भु सिंह घर्ती, माथागढी ५ का वडा सदस्य यम बहादुर आले, डिल्लीसरा सारुलगाएतले ऋणल लगानी र असुली गर्दा नियमसंगत रुपले दुवै पक्ष ईमान्दार हुनुपर्ने विषयमा जोड दिनुभयो ।
कार्यक्रममा शाखा प्रमुख कल्पना परियारले व्यवसायिक वित्तीय साक्षरताले व्यवसायलाई नगद प्रवाह व्यवस्थापन, बजेटको विकास र व्यवस्थापन, लगानी गर्ने निर्णय, व्यवसाय गर्दै जाँदा आइपर्ने हरेक जोखिम व्यवस्थापन गर्न, व्यापार लेनदेनको कर प्रभावहरू बुझ्दै र कर कानून र नियमहरूको पालन गर्न महत्वपूर्ण योगदान दिने बताउनुभयो ।
प्रकाशित मिति २०८१ चैत्र १ शुक्रबार