तानसेन, पाल्पा । पाल्पामा दुर्घटना न्यूनीकरण गर्ने उद्धेश्य सहित जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पा र स्काउटका विद्यार्थीहरुले जिल्ला सदरमुकाम तानसेनमा प्रभातफेरी गरेका छन् ।

विभिन्न स्कुलका स्काउटमा आवद्ध विद्यार्थी, शिक्षक अभिभावक, विभिन्न क्वलका प्रतिनिधिहरु, प्रहरीसहितको टोलीले दुर्घटना न्यूनकिरण सम्बन्धी सचेतनामूलक शन्देश लेखिएका प्ले कार्डसहित तानसेनको बसपार्कदेखि आन्दोलनचोक, पेट्रोल पम्प हुँदै हुलाकचोक, आन्दोलनचोकबाट टुडिखेलसम्म प्रभात फेरी गरेका थिए ।

सहभागी विद्यार्थी र अन्य सरोकारवालालाई जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले दुर्घटना न्यूनीकरण गर्न सबैले सावधानी अपनाउनु पर्ने बताउनु भयो । उहाँले सहभागीमार्फत दुर्घटना मुक्त शहर बनाउन सवारी चलाउदा, पैदल हिड्दा र अन्य समयमा ध्यान दिनुपर्ने नियमका बारेमा समेत जानकारी दिनु भएको थियो ।

सिटबेल्ट बाँधेर मात्रै सवारी चलाउने, मोटरसाइकल स्कुटर चलाउदा हेलमेटको फिता राम्रोसंग बाँध्नुपर्ने, पैदलयात्रीले बाटो काट्दा ध्यान दिनुपर्ने, पैदल यात्रा गर्दा सधै दायातर्फबाट हिड्ने जस्ता विषयमा जानकारी दिइएको थियो । रामप्रसाद खनाल जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुखको रुपमा पाल्पा आएदेखि चरणबद्ध रुपमा यस्ता सचेतनाका कार्यक्रम हुँदै आएको छ ।         प्रकाशित मिति : शुक्रबार, १ चैत्र २०८१