नजरले दृश्यपान गरेपछि
अन्तर्मन भित्र कैद हुँदै
दिमागको ब्रह्माण्ड भरि रङ्गिन आउथ्यो
रङ्गि बिरङ्गी रङ्गहरू
यी नयनहरू-
आकर्षित हुन्थे
अल्झिरहन्थे
रङ्गि बिरङ्गि रङ्गहरूमा
पुलकित हुन्थेँ रङ्गहरूको संसारमा ।
रङ्गिन थियो नजर
रङ्गिन थिए मनहरू
रङ्गिन कल्पिन्थेँ कल्पनाहरू
रङ्गिन देखेकी थिएँ सपनाहरू
रङ्गिन थिए चाहनाहरू
लाग्थ्यो जिन्दगी रङ्गिन छ
र संसार नै रङ्गिन भैइरहन्छ ।
जब यो समाजले
मेरो शिरको रातो सिन्दूर
जवर्जस्ती पखालीदियो
रङ्गबिहीन बनाईदियो सिउँदो
गुथाईदियो बिधुवाको पगरी
हरण गरिदियो रङ्गिन संसार
क्लेशमय जीवनचक्रमा
अन्धकार कालो जीवन माथि
जब ओढाईदियो सेतो पहिरनहरू
तब मलाई यो समाज प्रति
यो सिङ्गो संस्कार प्रति
र रङ्गि बिरङ्गि रङ्गहरू प्रति
अन्तर्हृदयबाट द्वेष सृजिन थालेको हो
कृपया,
मलाई रङ्गहरू प्रति वितृष्णा छ
मलाई होलीको रङ्ग नछ्याप्नू होस्
कदाचित्,
तोडेर मेरो आग्रहको सीमारेखा
बढाए भने कलुषित पाइलाहरू
स्त्रीहरूको मासिक धर्मको रङ्ग काफी छ
हरेक महिना तपाई माथि रातो रङ्ग छ्यापिन सक्छ ।
————-
निस्दी गाउँपालिका- ६ अर्चले, पाल्पा