काठमाडौं । नेपाली साहित्यका मूर्धन्य साहित्यकार लीलबहादुर क्षेत्रीको फागुन २९ गते राति १०:१० बजे आफ्नै निवास मरिखाली गुवाहाटी भारतमा ९३ को उमेरमा निधन भएको छ ।
उहाँको पहिलो उपन्यास ‘बसाइँ’ २०१४ सालमा मदन पुरस्कार पुस्तकालयले प्रकाशित गरेको थियो जुन उपन्यासले सर्वाधिक बिक्री हुने उपन्यासको कीर्तिमान राख्न सफल भयो । पाठ्यक्रममा समेत रहेको यो उपन्यासको अंग्रेजी लगायत विभिन्न भाषामा अनुवाद भएको छ भने यस उपन्यासको चलचित्र समेत बनेको छ ।
‘बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ’, उपन्यास, ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ निबन्ध सङ्ग्रह उपन्यासका साथै कथा, निबन्ध र नाटकसमेत लेखेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान गर्नुभएका उहाँ जगदम्बाश्री पुरस्कारबाट सम्मानित हुुनुहुन्थ्यो ।
भानु पुरस्कारलगायत विभिन्न पुरस्कारबाट सम्मानित उहाँलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट पनि सम्मान गरेको थियो
प्रकाशित मिति : २०८१ चैत्र १ शुक्रबार