रामपुर, पाल्पा । रामपुर नगरपालिका न्यायिक समितिको आयोजनामा न्यायिक समितिसंग प्रहरी साझेदारी कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएको छ ।
रामपुरको विजयपुरमा सम्पन्न कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सभ्य र सुसंस्कृत नगर निर्माणका लागि सबै सचेत हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । पछिल्लो समय हरेक व्यक्तिमा नकारात्मक सोँच हावि भएका कारण विवाद लगायत अपराधिक घटनाहरु बढ्दै गएको बताउदै उहाँले विवादलाई कानुनी रुपमा छलफलको माध्यमबाट समाधान गर्न आवश्यक रहेको बताउनु भयो ।
यस्तै रामपुर नगरपालिकाका उपप्रमुख तथा न्यायीक समितिका संयोजक बाल कुमारी थापाले विवादले समाजिक मेलमिलापलाई असर पार्ने बताउदै न्यायीक समितिको क्षेत्राधिकार भित्रका विवादलाई न्यायपूर्ण रुपमा निरुपण गर्दै आएको बताउनु भयो । यसैगरी रामपुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष दिवाकर देवकोटाले मेलमिलाप सहितको शान्त समाज निर्माणका लागि सबै सजग हुन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाका प्रहरी निरिक्षक राम बहादुर नेपालीले विभिन्न अपराध, लागु औषध, सडक सुरक्षा, साईबर क्राईम तथा यसको कानुनी उपचारका विषयमा सहजीकरण गर्नु भएको थियो । यस्तै न्यायीक समिति सचिवालय सचिव पार्वती परियारले समितिको काम, कर्तव्य र अधिकार लगाएतका विषयमा अभिमुखिकरण गर्नु भएको थियो ।
रामपुर नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक बाल कुमारी थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको न्यायिक समिति सदस्य खेमराज अधिकारीले स्वागत र न्यायीक समिति सचिवालय सचिव पार्वती परियारले सञ्चालन गर्नु भएको थियो ।