लमही, दाङ । प्रगतिशील लेखक संघ (प्रलेस) लुम्बिनी प्रदेशको तेस्रो अधिवेशन सम्पन्न भएको छ। साहित्य, विचार, संस्कृति र सामाजिक परिवर्तनका सवालमा संलग्न प्रगतिशील लेखकहरूलाई एकताबद्ध गर्दै अघि बढ्ने उद्देश्यका साथ सहिद नेत्रलाल अभागी स्मृति प्रतिष्ठान लमही दाङमा सम्पन्न अधिवेशनले डा. मुरारि पराजुलीको अध्यक्षतामा नयाँ प्रदेश कमिटी चयन गरेको छ।

अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिमा उपाध्यक्षमा गणेशा विष्ट कार्की र ध्रुव गिरी, सचिवमा गोविन्द खड्का, उपसचिवमा सुन्दर गुरुङ तथा कोषाध्यक्षमा सीता ढुङ्गाना काफ्ले चयन हुनु भएको छ । सदस्यहरूमा गणेश घिमिरे, कृष्ण डाँगी, वसन्त पुनमगर, सन्तोष घिमिरे, सूर्यप्रसाद न्यौपाने, दया दर्लामी, टंकप्रसाद आचार्य, भरत रानाभाट, खोपीराम ओली, देवन्द्र कुँवर, पुरण शर्मा, केशव बेल्वासे र टेकराज भुसाल निर्वाचित भएका छन् ।

प्रलेसका केन्द्रीय अध्यक्ष डा. मधुसुदन गिरीले लेखकहरू समाजका संवेदनशील अभिलेखकर्तासमेत हुने भएकाले उनीहरूको लेखनीले शोषण, विभेद, असमानता र अन्यायविरुद्ध जनताको पक्षमा दृढ भएर दरो भूमिका खेल्नुपर्ने बताउनु भयो।
केन्द्रीय सचिव दलबहादुर गुरुङले साहित्यिक आन्दोलनलाई सशक्त बनाउन विचार, संगठन, र सिर्जनालाई समान रूपमा अघि बढाउनु पर्ने बताउनु भयो। उहाँले साहित्य समाज रूपान्तरणको शक्तिशाली अस्त्र भएकाले यसलाई डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय स्तरसम्म प्रवर्द्धन गर्नु बताउदै नवोदित स्रष्टाहरूलाई प्रेरित गर्दै संगठनलाई थप क्रियाशील बनाउनुपर्ने मा जोड दिनु भयो ।
प्रा.डा. कपिलदेव लामिछानेले उत्पीडित, उपेक्षित तथा सीमान्तकृत आवाजहरूलाई समेट्ने दिशामा प्रलेसले थप योजनाबद्ध पहल गर्नुपर्ने बताउनु भयो। केन्द्रीय सल्लाहकार पदमप्रसाद शर्माले समाजपरक साहित्य सिर्जना गर्ने अभ्यासलाई संस्थागत गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो।

रूपन्देही अध्यक्ष कृष्ण गाउँलेले नवोदित स्रष्टाहरूलाई प्रेरित गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउँदै प्रदेश समितिको क्रियाशीलता सशक्त बनाउनुपर्ने बताउनु भयो।
सम्मेलनमा सहभागी विभिन्न वक्ताहरूले साहित्यको समाजपरक भूमिका, समकालीन साहित्यिक प्रवृत्ति, सर्जकहरूको अधिकार, प्रगतिशील विचारधाराको सुदृढीकरण, भाषा-संस्कृति संरक्षण तथा प्रवर्द्धनलगायत विषयमा धारणा राखेका थिए।अधिवेशनले प्रलेस नेपाल लमही सात बुँदे घोषणा पत्र समेत पारित गरेको छ ।
सात बुँदे घोषणापत्र :
प्रगतिशील लेखक सङ्घ, लुम्बिनी प्रवेश सम्मेलन (२०८१ फागुन २६) का अवसरमा हामी सहभागी आयोजक, लेखकहरू प्रगतिशील लेखन, चिन्तन र व्यवहारसम्बन्धी तपसिलको घोषणा गर्दछौँ ।
१. संसारमा जहाँसुकै भइरहेका हत्या, हिंसा, युद्ध र साम्राजवादी हस्तक्षेपको यो सम्मेलन घोर विरोध गर्दै त्यस्ता गतिविधिहरू तत्काल रोक्न आह्वान गर्दछौं ।
२. नेपाल, नेपाली जनताको सशक्त आन्दोलनबाट गणतान्त्रिक व्यवस्थामा रुपान्तरित भइरहेको अवस्थामा केही व्यक्ति विशेषको कमीकमजोरीको फाइदा उठाउन खोज्दै हिजो जनद्रोही, जनघाती निरङ्कुश राज्यव्यवस्थाको नेतृत्व गर्ने राजतन्त्रको मागप्रति यो सम्मेलन घोर भर्त्सना गर्दै गणतन्त्रका पक्षमा सशक्तरुपमा उभिन सम्पूर्ण नेपालीमा अपिल गर्दछौं ।
३. समाज विकासका क्रममा समयानुकूल लेखकीय दायित्व र जिम्मेवारी पनि केही परिवर्तित हुन जाने हुँदा नेपालका सन्दर्भमा सामाजिक सांस्कृतिक रूपान्तर तथा सुशासनका निमित्त जातजाति, भाषाभाषी समुदायको स्वपहिचान झल्कने, तर रुढीबादी अन्धविश्वास नझल्किने अग्रगामी विचार प्रवाह प्रचार प्रवाह हुनेगरी रचना वा सिर्जना गरिने हुनाले प्रगतिशील लेखकहरुले यसलाई मनन गर्दै सिर्जना गर्न, लेखन कार्य गर्न यो सम्मेलन आह्वान गर्दछ ।
४. राजनीतिक दलका कमजोरीका कारण उत्साहित हुन थालेको राजावादी तथा सामन्तवादी तत्वलाई निरुत्साहित गर्दै मुलुकलाई समाजवादी बाटोमा अग्रसर गराउन कम्तीमा समान विचारका कम्युनिष्ट पार्टीहरूले साझा कार्यक्रम र सहमतिका आधारमा एकता वा कार्यगत एकता गरेर अगाडि बढ्न यो सम्मेलन आह्वान गर्दछ ।
५. छिमेकी मुलुकसँग हामी समतामूलक सौहार्द सम्बन्धको अपेक्षा गर्दै सीमा अतिक्रमण, सांस्कृतिक, राजनीतिक हस्तक्षेपको घोर भर्त्सना गर्दछौं।
६. यो सम्मेलन प्रगतिवादी आन्दोलनका पक्षमा तथा दक्षिणपन्थी प्रतिगामी तत्त्वका विरुद्ध एकताबद्ध भएर लाग्न प्रतिबद्धता प्रकट गर्दछ ।
७. यो सम्मेलन लुम्बिनी प्रदेशको सामाजिक, भाषिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई आत्मसात् गर्दै यस क्षेत्रको अध्ययन अनुसन्धानको व्यवस्था हुन माग गरेको छ ।