प्रेम बगाले
बगनासकाली, पाल्पा । लालपाटी नरसिंह मन्दिर व्यवस्थापन समितिको आयोजनामा फागुन २९ गते फागुपूर्णिमाको दिन बगनासकाली गाउँपालिका वडा नं. २ पोखराथोकको लालपाटीस्थित ऐतिहासिक नरसिंह मन्दिर परिसरमा विशेष मेला हुने भएको छ ।

स्थानीय सांस्कृतिक सम्पदा र परम्परालाई संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा फागु नाच प्रतियोगिता हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र ढकालले बताउनु भयो । प्रतियोगितामा पहिलो हुनेलाई  ८ हजार, दोस्रो पहिलो हुनेलाई ६ हजार र तेस्रो पहिलो हुनेलाई ४ हजार नगद पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ । मेलामा हास्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्खे बा) को समेत विशेष प्रस्तुति  रहनेछ ।

लोप हुने अवस्थामा पुगेको फागु नाचलाई जोगाउने उद्देश्यले विगत तीन वर्षदेखि नरसिंह मन्दिर व्यवस्थापन समिति सक्रिय रूपमा लागि रहेको छ । स्थानीय परम्परा, संस्कार र सांस्कृतिक सम्पदालाई प्रवर्द्धन गर्दै आएको लालपाटी फागुपूर्णिमा मेला यस वर्ष पनि धार्मिक तथा सांस्कृतिक महत्त्वका साथ सम्पन्न हुने आयोजकले जनाएकोे छ ।

पाल्पाको पुरानो व्यापारिक केन्द्र समेत मानिने लालपाटी माडीफाँटको केन्द्र हो । स्थानीय बुढापाकाहरुका अनुसार २५० वर्षभन्दा अघिदेखि फागु नाच खेल्ने पुरानो परम्परा रहेको यो क्षेत्र विशेषगरी नुन बोक्ने पुरानो मार्गका रूपमा प्रसिद्ध रहेको थियो ।