तानसेन, पाल्पा । तानसेन नगरपालिकाको आयोजनामा ११५ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा ‘राजनीतिमा महिला नेतृत्व’ विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा पूर्व संविधानसभा सदस्य लीला सोमैले ‘राजनीतिमा महिला नेतृत्व’ विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँको कार्यपत्र माथि नेकपा (एमाले) जिल्ला कार्यसमिति अध्यक्ष धनेन्द्रराज घिमिरे र नेपाली कांग्रेस जिल्ला कार्यसमिति प्रवक्ता शोभाकर भट्टराईले टिप्पणी प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले समाजको समुचित विकासका लागि महिलाको सक्रिय सहभागिता आवश्यक रहेको बताउनु भयो । उहाँले नेतृत्व तहमा महिलाको संख्या मात्र होइन, उनीहरूको प्रभावकारी भूमिका सुनिश्चित गर्नु आजको आवश्यकता रहेको बताउनुभयो । नगरप्रमुख श्रेष्ठले नगरपालिकाले महिला श्रमिकहरूको हकहित संरक्षण, समान प्रतिनिधित्व, र नयाँ पुस्ताका महिलाहरूलाई नेतृत्व विकासमा प्रोत्साहन गर्ने कुरामा जोड दिने समेत बताउनु भयो ।

कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरूले महिलाको राजनीतिक नेतृत्वलाई अझ प्रभावकारी बनाउन गर्नु पर्ने आवश्यक पहलहरूबारे आफ्ना धारणा राखेका थिए ।
नगर उपप्रमुख प्रतिक्षा सिंजालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यपालिका सदस्य सविता भट्टराईले स्वागत मन्तव्य राख्नु भएको थियो भने महिला तथा बालबालिका शाखाका कर्मचारी चिना कुमारी न्यौपानेले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।