मासिक तलब पाईँदैन
साप्ताहिक बिदा दिईँदैन
आमाहरूको छुट्टी हुँदैन
आमाहरू-
हरेक बिहान- घाम ब्यँउँझिनू पहिले उठ्छिन्
हरेक रात- जूनले आधा बाटो हिडेपछि सुस्ताउँछिन्
आमाहरू-
बाह्रैमास काममा खटिरहेका हुन्छन्
न घामले पोल्दा विश्राम पाइन्छ
न सिरेटोले हान्दा पछि हट्न पाइन्छ
न बाढी पहिरोले भत्कायो कामको सिलसिला
न आँधी तुफानले उडाएर लगिदिन्छ दैनिकी तालिका
आमाहरूको छुट्टी हुँदैन
तर आमाहरूलाई तलब दिईँदैन
सदियौं देखि आमाहरू-
विकासित सहरको चोकमा ठड्याएको
सामान बेच्ने आधुनिक विक्रयी मेशिन झैं खटिईरहेकी छिन् ।