विष्णु जिसी
माथागढी, पाल्पा । माथागढी गाउँपालिका वडा नं. ५ को खल्लुकघाटमा बन्ने झोलुङ्गे पुलको गाउँपालिका अध्यक्ष यम बहादुर चिदी र उपाध्यक्ष विष्णुमाया लुङ्चेले संयूक्त रुपमा शिलान्यास गर्नु भएको छ ।
पुलको सिलान्यास गर्दै गाउँपालिका अध्यक्ष चिदीले झुम्सा खोलाको वारी बाट पारी जानको लागि ठुलो खोला भएका कारण वर्षायाममा स्थानीयलाई खोला तर्न मुस्किल पर्ने र खोलाले नै बगाउने जोखिम रहेको बताउनुभयो । उहाँले यस क्षेत्रका हजारौँ स्थानीयलाई प्रत्यक्ष लाभ मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिका उपाध्यक्ष लुङ्चेले झोलुङ्गे पुल निर्माण भएपछि दमार, ढाडकुन, सेंवले र हात्तिलुङ्ग गढवास क्षेत्रका नागरिक तथा यसपुलको प्रयोग गरी आवत जावत गर्ने सवैको लागि सहज हुने बताउनु भयो । उहाँले पुल निर्माणको क्रममा हुन सक्ने दुर्घटनालाई मध्येनजर गरी प्रति कामदार तीन वर्षको ज्याला बराबर १० जनाको दुर्घटना बीमा गरिएको समेत बताउनु भयो ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ४ का वडाध्यक्ष शंकर दर्लामीले ३१ लाख २ हजार ५ सय २८ रुपैंया १२ पैसाको लागतमा पुलको निर्माण हुने बताउनु भयो । उहाँले स्थानीय समुदायबाट ६२ हजार ५० रुपैंया ५६ पैसा बराबरको लागत सहभागितामा श्रमदान हुने समेत उल्लेख गर्नु भयो ।
यही असार १२ गतेसम्म निर्माणकार्य सम्पन्न हुने गरि उपभोक्ता समितिसंग सम्झौता भएको उक्त पुलको लम्बाई ४६ मिटर हुनेछ । पुल निर्माण गर्न गैरसरकारी संस्था SWAP ले नगद तथा जिन्सी सामग्री र प्राविधिक सहयोग ईन्द्रेणी समाज केन्द्र नेपालले गर्नेछ ।