चिदीपानी, पाल्पा । सौभाग्य माध्यमिक विद्यालय माथागढी १ चिदीपानी पाल्पाको ७३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ ।

समारोहमा बोल्नु हुदै प्रमुख अतिथि माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले सौभाग्य मावि पूर्वी पाल्पाको शैक्षिक धरोहर भएको उल्लेख गर्दै यस विद्यालयमा सञ्चालित प्राविधिक धारको अध्यापनले गुणस्तरिय र सीपमुलक जनशक्ति उत्पादन गर्न महत्वपुर्ण भूमिका निर्वाह गरेको बताउनु भयो ।

सौभाग्य मावि चिदीपानीमा प्राविधिक तथा व्यवसायिक धार अन्तरगत ईलेक्ट्रीकल ईन्जिनियरिङ अध्यापन हुँदै आएको छ । कार्यक्रममा माथागढी गाउँपालिका उपाध्यक्ष विष्णुमाया लुङ्चे, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरे, वडा नं १ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पन्थी लगायतले विद्यालयको योगदानको चर्चा गर्दै थप प्रगतिको कामना गर्नु भयो ।

कार्यक्रममा विद्यार्थीहरुले ईलेक्ट्रीक सामग्रीहरुको प्रयोग गरि बनाईएका विषय र विभिन्न सांस्कृतिक प्रतिभाहरु प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयको विभिन्न क्षेत्रमा योगदान पुर्याउनु भएका व्यक्तित्त्वहरु तथा शैक्षिक एवं अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीहरुलाई सम्मान र पुरस्कार वितरण गरिएको थियो ।