तानसेन,पाल्पा । लुम्बिनी प्रदेश सरकारको लगानीमा तानसेनस्थित कैलाशनगरमा निर्माण सम्पन्न भएको श्रीनगर सांस्कृतिक डबली सञ्चालनमा आएको छ । डबलीको स्थानीय सरकार तानसेन नगरपालिकाले संचालनमा ल्याएको हो ।
स्थानीय कला संस्कृति प्रस्तुत गर्नका लागि खुला नाचघरका रुपमा लुम्बिनी प्रदेश सरकारले ६ करोड ८२ लाख ५६ हजार बढीको लागतमा निर्माण सम्पन्न गरी १५ महिना अघि तानसेन नगरपालिकालाई डबली हस्तान्तरण गरेको थियो ।

स्थानीय सरकारले संचालनका कार्यविधि बनाएर संचलानलमा ल्याएको डबलीमा हप्ताको एक दिन विभिन्न जाजतातिका कला संस्कृतिको प्रस्तुति, खानाका परिकार र अन्य कार्यक्रम गर्नेगरी योजना अघि बढेको नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनु भयो।
कुल पाँच सय जना अट्न सक्ने क्षमताको खुला नाच घरमा पहिलो दिन मगरी र नेवारी खानाका परिकारसंगै सोरठी, झ्याउरे, नेवारी धिमेबाजा, जिवैमाइवा जस्ता नाच प्रदर्शन गरिएको डवली संचालक समितिका संयोजक एवं तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले बताउनु भयो ।

डबलीमा स्टेज, दुबोसहितको दर्शक कक्ष, कलाकारको चेन्जिङ रूम, कोलसेट, शौचालय, गार्ड हाउस, टिकट काउन्टर, अफिस कोठा र पार्किङ सहितको सुविधा रहेको छ ।