रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) र नेपाल ट्रेजर कार्वन लिमिटेडबिच नगरका ग्रामीण तथा परम्परागत चुल्हो प्रयोग गर्दैआएका घरपरिवारमा सुधारिएको चुल्हो बितरण गर्ने सम्झौता भएको छ ।
नगरपालिकामा पनि त्यस्ता घर परिवारको एकिन गरी सुधारिएको चुल्हो बितरण गर्न सिद्धार्थनगर पालिकाका प्रमुख इश्तियाक अहमद खाँ र संस्थाको तर्फबाट ट्रेजर कार्वन लिमिटेड नेपालका प्रमुख स्टेभेनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि उक्त संस्थाले नगरपालिकाको सहयोगमा सुरुमा परम्परागत चुल्हो प्रयोग गर्ने घरपरिवारको छनौट गर्नेछ । छानोट पश्चात् सम्झौताको ६ महिनाभित्र सुधारिएको चुल्हो बितरण गर्ने लक्ष्य लिइएको संस्थाका प्रवन्ध निर्देशक समीक्षा बरालले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो चुल्होको प्रयोगले ६० प्रतिशत दाउरा तथा गुइठाको प्रयोग कम गर्नेछ । जसबाट कम दाउराको प्रयोगमा छिटो खाना पाक्नुका साथै कार्वन उत्सर्जनमा पनि कमी ल्याउनेछ ।
नगर प्रमुख खाँले नगरवासीको स्वास्थ्यमा सुधार ल्याउने, वातावरण प्रदूषण कम गर्ने एवं खाना पकाउँदा दाउरा, गुइँठाको लागत कम गर्ने उद्देश्यले नगरवासीलाई आधुनिक एवं सुधारिएको चुल्हो बितरण गर्न संस्थासँग सहकार्य गरिएको जानकारी दिनुभयो । कार्वन उत्सर्जन कम गरी जलवायु परिबर्तनको असरमा सुधार गर्ने उद्देश्यले स्थापना भएको नेपाल ट्रेजर कार्वन लिमिटेडले खाना पकाउँदा दाउरा तथा गुइँठा प्रयोग कम गर्न सुधारिएको चुल्हो बितरण गर्ने गर्दछ ।