प्युठान । नेपालमा लोपउन्मुख कुसुन्डा समुदायको भाषा संरक्षणका लागि प्युठानमा कुसुन्डाहरुलाई एकै थलोमा राखेर १५ दिनको कुसुन्डा भाषाको कक्षा संचालन हुन थालेको छ ।

सरुमारानी गाउँपालिकाको आर्थिक सहयोगमा देशभरका भाषा प्रशिक्षण हुन थालेको सरुमारानी गाउँपालिकाका अध्यक्ष झकबहादुर बिकले जानकारी दिनु भयो ।

नेपालभर रहेका कुसुन्डा समुदायका प्रत्येक घरबाट एक जनाका दरले उपस्थिति हुने उहाँले बताउनु भयो । हरेक स्थानीय सरकारले भाषा संरक्षण सम्बन्धि कानुन बनाउनुपर्ने भएकाले कुसुन्डा भाषाको संरक्षण सम्बन्धि कानुन पारित गरेको र सोही अनुसार काम अगाडि बढेका समेत बताउनु भयो । मानविय बिकास नै पहिलो बिकास हुने भएकाले लोपउन्मुख कुसुन्डा भाषालाई कुसुन्डा समुदायका नागरिकलाई भाषा, संस्कार र संकृतिका बारेमा जानकारी दिने उद्धेश्य रहेको उल्लेख गर्नु भयो । उहाँले प्युठानमा ६ घरधुरी रहेपनि लोपउन्मुख समुदायको संरक्षणमा सोही समुदाय नै सकृय भएमात्र सम्भव हुने भएकाले पालिकाले पहिलो प्रयास गरेको बताउनु भयो।

लोपउन्मुख समुदायको भाषा, संस्कार र संस्कृति संरक्षणका लागि पालिकास्तरबाट महत्व राखेर कार्यक्रम हुन थालेको कुसुन्डा भाषाका अनुसन्धानकर्ता उदयराज आलेले जानकारी दिनु भयो । लोप हुन थालेको भाषालाई संरक्षण गर्न सबैले चासो दिएमा भाषा जीवित हुने भएकाले यही फागुन १९ गतेबाट संचालन हुने १५ दिनको कक्षामा भाषा, संस्कार, रहनसहनका बारेमा जानकारी दिने जानकारी गराउनु भयो ।

कुसुुन्डा भाषाको पूर्ण बक्ता ज्ञानीमाया कुसुन्डाको मृत्यु भएपछि भाषा झनै संकटमा परेको छ । पुरानो पुस्ता जीवीत नहुने नयाँ पुस्ताले नवोल्ने हो भने भाषा लोप हुने उहाँको धारणा छ । भाषा आयोगको सहयोगमा दाङमा २३ जना कुुसुन्डा युवाहरुले भाषा सिकिसकेका छन् । उनीहरु एक आपसमा कुसुन्डा भाषाको प्रयोग गर्ने गरेका छन्।

नेपालको जनगणना २०७८ अनुसार नेपालमा कुसुन्डा जातिको कूल जनसंख्या पुरुष ११५ र महिला १३८ गरी कुल २५३ जना उल्लेख गरिएको छ । लुम्विनी प्रदेशको प्युठान जिल्लामा पुरुष १६ र महिला १५ गरी ३१ जना कुसुन्डा छन् भने दाङ जिल्लामा पुरुष १७ र महिला २७ गरी ४४ जना छन् । कुसुन्डाहरु गोरखा, तनहुँ, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रोल्पा, दाङ देउखुरी र सुर्खेत जिल्लामा बसोबास गरिरहेका छन् ।