तानसेन, पाल्पा । नेपाल औषधि व्यवसायी संघ पाल्पाको अध्यक्षमा समिरमान सिंह चयन हुनु भएको छ । संघको तानसेनमा सम्पन्न आठौं साधारण सभा तथा सातौं जिल्ला अधिवेशनले सिंहलाई अध्यक्षमा चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा सू्र्य बस्याल, महासचिवमा मैना सुवेदी, कोषाध्यक्षमा सचिन विष्ट, सचिवमा बेनिमाधव आचार्य र सह कोषाध्यक्षमा निरोज श्रेष्ठलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा ईशवरी प्रसाद विसी, रिता पाण्डे र अनिल थापा रहेका छन् ।

सभा तथा अधिवेशनको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले उद्घाटन गर्नु भएको थियो । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनु भएका मन्त्री सारुले नीति, विधि र ऐन भित्र रहेर काम गर्न औषधि व्यवसायी र स्वास्थ्य संस्थाहरुलाई आग्रह गर्नु भयो । उहाँले सरकारी स्वास्थ्य संस्थाहरुको गुणस्तर वृद्धि गर्ने कार्यमा आफ्नो मन्त्रालयले तिव्रताका साथ काम गरेको उल्लेख गर्दै केही व्यवसायी र संघसंस्थाहरु शिष्टममा नचल्दा जनतामा आक्रोस पैदा भएको उल्लेख गर्नु भयो ।

लुुम्बिनी प्रदेश सांसद तथा पूर्वमन्त्री विरबहादुर रानाले सिंगो मानव जीवनसँग जोडिएको विषय औषधि व्यवसायी भएकाले संवेदनशील भएर व्यवसाय गर्न आग्रह गर्नु भयो । उहाँले पछिल्लो समय जीवनशैली र खानापानका कारण मानिसहरुमा विभिन्न किसिमका रोगहरुले ग्रस्त बनाउँदै लगेकाले औषधि व्यवसायलाई मर्यादित, भरपर्दो र गुणस्तरीय बनाउनु पर्नेमा जोड दिनु भयो ।

सभामा नेपाल औषधि व्यवसायी महासंघका पूर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराई, संघका लुम्बिनी प्रदेश अध्यक्ष लोकराज न्यौपाने, लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष शिव ज्ञवाली, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुुवेदी, संघका सल्लाहकारहरु नारायणबहादुर कार्की, यम चिदी, रुक्मागत शर्मा, पाल्पा व्यापार संघका अध्यक्ष विष्णुबहादुर कार्की, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझी, युनाइटेड मिसन अस्पतालकी निर्देशक रचेल कारख लगायतले साधारण सभा तथा अधिवेशनको सफलताको शुभकामना व्यक्त गरे ।

संघका अध्यक्ष विष्णु केसीको अध्यक्षता, निवर्तमान अध्यक्ष रामलाल श्रेष्ठको धन्यवाद ज्ञापन, उपाध्यक्ष समिरमान सिंको स्वागत तथा महासचिव सूर्य बस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।