प्रेम बगाले
चापपानी, पाल्पा । बगनासकाली गाउँपालिका–९ चापपानी फुक्टुङ्गस्थित शिवालय मन्दिरको नव निर्मित दुई कोठे भवनको लुम्बिनी प्रदेश सभा उपसभामुख मेनुका खाँण के.सी.ले उद्घाटन गर्नुभएको छ ।

उद्घाटन समारोहमा मन्तव्य राख्दै उपसभामुख खाँणले धार्मिक स्थलहरूको संरक्षण तथा विकासमा सबैको साझा योगदान आवश्यक हुने बताउनु भयो । गाउँपालिका उपाध्यक्ष हरि पाठकले स्थानीय धर्म, संस्कृति र परम्पराको संरक्षणमा यस्ता भौतिक पूर्वाधारहरूको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । उहाँले समुदायको सक्रिय सहभागितामा निर्माण भएको यस भवनले धार्मिक गतिविधिहरूलाई अझ व्यवस्थित बनाउन मद्दत गर्ने उल्लेख गर्नु भयो । उँपालिकाले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर सहयोग गर्नेछ समेत बताउनुभयो ।

समुदायको धार्मिक तथा सामाजिक गतिविधिलाई अझ व्यवस्थित बनाउन नयाँ भवन निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । उक्त भवन निर्माण सम्पन्न भएपछि मन्दिरमा आउने भक्तजनहरूलाई सुविधाजनक वातावरण उपलब्ध गराउने लक्ष्य राखिएको छ । समारोहमा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।