एवत सारु
रम्भा, पाल्पा । रम्भा गाउँपालिकामा ४३ औं मगर एकता दिवसको धुमधामका साथ मनाईएको छ । रम्भा गाउँपालिका मगर संघको आयोजना तथा रम्भा गाउँपालिकाको आयोजनामा वडा नं. ५ ताहुँको स्याहाच डाँडामा आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले मिहेनेती र इमान्दार मगरहरुको बाहुल्यता रहेको पाल्पा जिल्लाका मगरहरु आफ्नो भाषा, संस्कार, प्रचलन र भेषभुषाको जगेर्ना गर्दै समयानुकूल परिवर्तन भई प्रगतिको बाटोमा हिंड्नु पर्ने बताउनु भयो । वहाँले अवको नयाँ पुस्ताले सुसंस्कारले भरिएको शिक्षा, स्वास्थ्य, प्रविधि र व्यवसाय क्षेत्रमा अग्रगामी सोंचले भरिएको हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथि रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले रम्भा गाउँपालिकामा अधिकांश मगर समुदायको बसोबास रहेको र मगरहरुको भाषा, धर्म, संस्कार, पर्व र कला संस्कृतिको जगर्ना, संरक्षण र सम्बर्धनमा रम्भा गाउँपालिकाले सधैं उच्च प्राथमिकता दिने बताउनु भयो ।
कार्यक्रममा नेपाल मगर संघ जिल्ला सह सचिव चेतबहादुर सुनारी, रम्भा गाउँपालिकाका पूर्व प्रशासकीय अधिकृत भक्तुजङ्ग राना, नेपाल मगर संघ ३ नं. वडा अध्यक्ष सुरबहादुर सुनारी, नेपाल मगरात जोनका अध्यक्ष दिपक काम्मु, घोरपाल छाप बुद्धबिहारका अध्यक्ष दुर्गाप्रसाद अधिकारी र सामाजिक अभियान्ता पदम लामिछाने लगायतले मगर दिवसले सम्पूर्ण मगरहरुमा चेतना र विकासको दियो बाल्न सकोस भनि शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय गायकार बसन्ती मश्राङ्गीले मगर भाषाको गीत गाएर दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए । कार्यक्रममा रम्भा गाउँपालिकाका विभिन्न वडाबाट झाम्रे, सालै जो, कौरा, पन्चे बाजा सहित झाकी सहितको प्रस्तुती रहेको थियो । रम्भा गाउँपालिकाले मगर दिवसको अवसर पारेर पालिका भरि सार्वजनिक विदा दिएको थियो ।

वि.सं. २०३९ साल फागुन १५ गते तनहुको दमौलीमा पहिलो पटक मगरहरुको हक हित विकासको लागि मगरहरुको भेला बसेको सम्झनामा मगरहरु फागुन १५ गते मगर दिवसको रुपमा मनाउदै आएका छन । कार्यक्रम नेपाल मगर संघ रम्भा समितीका अध्यक्ष श्रीमान मश्राङ्गीको अध्यक्षतामा चलेको थियो भने कार्यक्रमको सञ्चालन सचिव ज्ञानबहादुर बरालले गर्नु भएको थियो ।