पाल्पा । पाल्पामा जन्मिएर झण्डै तीनदशक ब्रिटिश आर्मीमा सेवा गर्नुभएका भूतपूर्व गोर्खा क्याप्टेन भीम सारूमगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको मेयर पदमा मनोनीत हुनुभएको छ ।
गत वर्ष मे महिनामा सत्तारूढ लेबर पार्टीबाट काउन्सिलर निर्वाचित सारू ३८ जना कान्सिलर मध्येबाट मेयर पदमा मनोनीत हुनुभएको हो । लेबरबाट १९, कञ्जरभेटिभबाट १७ र ग्रीन पार्टीबाट दुई जना काउन्सिलर रहेको उक्त बरोमा ग्रीन पार्टीले पनि सारूलाई समर्थन गरेपछि उहाँ मेयरमा मनोनीत हुनु भएको हो । उहाँ यसअघि उपमेयरमा चुनिनु भएको थियो । अब आउँदो मे १५ मा हुने औपचारिक समारोहमा उहाँले मेयर नियुक्त भई पदभार ग्रहण गर्नुहुनेछ ।
बेलायतको गोर्खा भर्तीको दुई सय वर्षभन्दा लामो इतिहासमा पूर्वगोर्खाको तर्फबाट पहिलो मेयरका रूपमा ननिटनमा मनोनीत हुनु गर्वको कुरा भएको भन्दै उपमेयर सारूले औपचारिक रूपमा मेयरको शपथ मे महिनामा हुने जानकारी गराउनु भयो । काउन्सिल इतिहासमा पहिलो गोर्खा मेयर बन्न लाग्नुभएका सारूमगर चार वर्षदेखि बेलायती राजनीतिमा सक्रिय हुनुहुन्छ ।
मेयर हुने पक्का भएपछि उहाँले नेपाली भएर पनि बेलायतमा राजपरिवाहरकोतर्फबाट हुनआफ्नो बरोमा प्रतिनिधित्व गर्न पाउँदा एकदमै भाग्यमानी ठानेको बताउनु भयो । हाल ब्रिटिश गोर्खा भेट्रान्स एशोसिएसनका अध्यक्ष समेत रहनु भएका सारुमगर रोयल इञ्जिनियर्सको ग्यारिजन इञ्जिनियरका रूपमा सेवानिवृत्त हुनुभएको थियो ।