देवीनगर, पाल्पा । नेपाल मगर संघ पूर्वखोला कार्यसमिति पूर्वखोला पाल्पाको आयोजनामा देवीनगर पाल्पामा ४३ औँ राष्ट्रिय मगर एकता दिवस भव्य रुपमा सम्पन्न भएको छ ।

नेपाल मगर संघ स्थापना भएको दिनको अवसरमा विविध कार्यक्रमसहित मगर एकता दिवस मनाइएको हो । दिवसका अवसरमा मगर समुदाय सम्बद्ध संघसंस्थाले आफ्नो सांस्कृतिक पहिचान झल्कने भेषभूषासहित विविध नाचहरु प्रस्तुत गरेका थिए ।


मातृभूमि माविको प्रङ्गगणमा आयोजित कार्यक्रममा सिलुवाको कौरा नाच, हेक्लाङ र रिङ्नेरहको झ्याम्रे नाच तथ जल्पाको घाटु नाच र पन्चेबाजा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापामगरले मगरहरुको भाषासस्कृति संरक्षका साथै संवैधानिक हक अधिकारलाई सदुपयोग गर्न सवै मगरहरु अग्रसर हुनु पर्ने बताउनु भयो । उहाँले सामाजिक, आर्थिक रुपान्तरणसङ्गै शैक्षिक अभियानमा लाग्न सवैलाई आग्रह गर्नु भयो ।

यस्तै विशिस्ट अतिथि पालिका प्रबक्ता एवं देवीनगरका वडाध्यक्ष मेहर सिंह थापामगरले अग्रजहरुको योगदान र संघर्षको कारण आजको मगर एकता दिवस मानाउने अवस्था सृजना भएको उल्लेख गर्नु भयो । उहाँले मगर समुदायको निरन्तर दबाव एवं आन्दोलनले समाबेशिता र आरक्षणको व्यवस्था भएको स्मरण गर्दै यो अवसरको लाभ लिन समग्र मगरहरु लाग्नु पर्नेमा जोड दिनु भयो ।

नेपाल मगर संघ पाल्पाका पूर्व उपाध्यक्ष एवं बिरकोट वडाका वडाध्यक्ष विष्णु कुमार पल्लीमगरले नेपाल मगर संघको ऐतिहासिक पृष्ठभुमिको चर्चा गर्दै मगर भाषा संस्कृति, संस्कार र लिपि संरक्षण गर्न नसकेमा मगर समुदायको अस्तित्व नै सङ्कटमा पर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल मगर संघ पाल्पाका पूर्व सहसचिव एवं नेपाल बायुसेवा निगमका अधिकृत हरि बहादुर सारुमगर, संघका जिल्ला सदस्य नुन बहादुर थापामगर, आदिबासी जनजाति समन्वय समिति पूर्वखोलाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ र ईन्द्र बहादुर राना मगरलागयले मगर एकता दिवसले समग्र मगर समुदायको हक अधिकार सुनिस्चितताको लागि महत्त्वपूर्ण भूमिका खेल्न सकोस भन्ने शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रममा विभिन्न नाचसहित सहभागी हुनु भएका सहभागी समुहलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । नेपाल मगर संघ पूर्वखोला कार्यसमितिका अध्यक्ष हिरा बहादुर ढेङ्गाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन लक्किमाया सिङ्जाली र भुवन सिङ्जालीले गर्नु भएको थियो ।

४३ औं मगर एकता दिवसकै अवसरमा पाल्पाको सवै पालिकाहरुमा विविध कार्यक्रम गरिएको थियो । पाल्पाको रामपुर, निस्दी, माथागढी, तिनाउ, रम्भा, बगनासकाली, तानसेन र रैनादेवीमा पनि मगर एकता दिवस भव्य रुपमा मनएका थिए । मगर एकता दिवसका अवसरमा पाल्पाका स्थानीय तहहरुले सार्वजनिक बिदा समेत दिएका थिए ।