डिल बहादुर खन्गाहा
निस्दी, पाल्पा । निस्दी गाउँपालिका पाल्पाको अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले अर्धवार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्नु भयो ।
प्रतिवेदनमा चालु तर्फ ४० दशमलव ८८ प्रतिशत र पूँजीगत तर्फ १० दशमलव १९ प्रतिशत खर्च भएको उल्लेख छ । चालू आर्थिक वर्ष निस्दीमा १ सय ४६ वटा योजना तथा कार्यक्रममा पौष महिनासम्म १७ वटा योजना मात्र सम्पन्न भएको छ । वडा नम्बर ५ गल्धामा सबैभन्दा धेरै ६ वटा योजना सम्पन्न भएको र वडा नम्बर ६ अर्चलेमा कुनै पनि योजना सम्पन्न भएको छैन ।
विगतका वर्षमा झै पालिकाले विभिन्न आयोजनाहरुको अनुगमन, एकीकृत घुम्ती शिविर सञ्चालन, पालिका स्तरीय पकेट बिकास कार्यक्रमलाई निरन्तरता दिएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताउनु भयो। निस्दीको गौरवको आयोजनाको रूपमा सबै वडा जोडिने गरि केम खाम्चा मार्गको स्तरोन्नति गरिने कार्य भएको प्रतिवेदनमा उल्लेख छ ।
साथै आन्तरिक पर्यटन प्रवर्द्धनको लागि विशेष योजना सञ्चालन, स्थानीय कृषि उपज सामग्रीलाई बिक्री वितरणमा सहजता ल्याउन योजना तथा कार्यक्रम सञ्चान गरिएको, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित र निरन्तरता दिदै आएको प्रतिवेदनमा रहेको छ । कार्यक्रममा सहभागीले निस्दीमा शैक्षिक गुणस्तर, बाल उद्यान निर्माण, आन्तरिक पर्यटन प्रबर्द्धन, बिजुली, यातायात, खानेपानी, बाल विवाहको समस्या, सुशासन, मानव संशाधन लगायतका विषयमा जिज्ञासा तथा सुझाव राखेका थिए ।
गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले जिज्ञासा तथा सुझाव दिनुहुने सबैलाई धन्यवाद दिनुहुँदै आगामी दिनमा पालिकाले रोजगार तथा व्यवसाय मुलक र उत्पादनमुखी काम गरिने बताउनु भयो । गाउँपालिकाको बहुउद्देश्यीय भवनमा भएको कार्यक्रममा सहभागीले राखेका जिज्ञासाको जवाफ विषयगत शाखा संयोजक, प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका अध्यक्षले दिनुभएको थियो। कार्यक्रमको सहजीकरण पत्रकार नारायण न्यौपाने र विष्णु घिमिरेले गर्नुभएको थियो ।