तानसेन, पाल्पा । जिल्लाको सदरमुकाम तानसेनमा महिलामैत्री शहर निर्माणका लागि लैङ्गिक सहभागीता सम्बन्धित अन्तर मूल्याङ्कन तथा महिला मैत्री शहर निर्माण सम्वन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले युनओपिएससँगको सहकार्यमा महिलाहरूको आवश्यकता र सुरक्षालाई प्राथमिकतामा राख्दै सार्वजनिक स्थानहरूको पहिचान, योजना, विकास, र व्यवस्थापनमा नगरपालिका लागि परेको बताउनु भयो । यस्तै कार्यक्रमका फोकल पर्सन दुर्गाबहादुर थापाले महिलाहरूलाई शहरी क्षेत्रमा समान अवसर र अधिकार प्रदान गर्न, उनीहरूको आर्थिक, सामाजिक र राजनीतिक सहभागिता सुनिश्चित गर्ने गरी कार्यक्रम डिजाइन भएको जानकारी दिनु भयो ।

कार्यक्रममा शहरी विकास मन्त्रालयका वरिष्ठ समाजशास्त्री कमल अधिकारीले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मार्गदर्शन २०८० नीतिगत रुपमा गरेका व्यवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले स्थानीय, प्रदेश सरकारबाट योजना संकलन, छनौट देखी, बजेट निर्माण तथा कार्यान्वयनसम्मका चरणहरुमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मार्गदर्शन २०८० लागु गर्नुपर्नेमा जोड दिनु भयो ।

युनओपिएसले तानसेन नगरपालिकामा खुला सार्वजनिक स्थानहरूको पहिचान, प्राथमिकता निर्धारण र नक्सांकन गरेर तिनीहरूको सुधार र व्यवस्थापनमा काम शुरु गरेको छ । जस अर्न्तगत वडा नंं १ को धुर्वघाट पार्क, वडा नंं. २ को नारायणस्थान फूलबारी, वडा नंं. ४ को मखनटोल, वडा नं. ६ को टुँडिखेल, वडा नंं. ७ को कमलपोखरी र वडा नंं. १४ को कुडानीलाई पहिचान गरेको छ । वडा नंं. ४ मा महिला साप्ताहिक मेला सञ्चालन कार्यक्रम शुरु भएको छ ।