तानसेन, पाल्पा । तानसेन नगरपालिका वडा नं. २ को टोल विकास संस्थाले ५७ जना जेहन्दार विपन्न दलित बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
मोहन कन्या मावि र बालमन्दिर प्राविमा अध्ययनरत विद्यार्थीहरुलाई स्विटर, जुत्ता र झोलासहित शैक्षिक सामग्री वितरण गरिएको थियो । शैक्षिक सामग्री वितरण कार्यक्रम बोल्दै तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले यस प्रकारको शैक्षिक सामग्री सहयोगले विपन्न बालबालिकाहरुका लागि थोरै भए पनि राहत मिल्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले टोल विकास संस्थाको सक्रियताले नगरको विकासमा महत्वपूर्ण योगदान पुर्याएको समेत बताउनु भयो ।
वडा कार्यालयको आर्थिक सहयोगमा जेहन्दार बालबालिकाहरुको शैक्षिकस्तर वृद्धि गर्नुको साथै अध्ययनमा प्रोत्साहन स्वरुप सामग्री वितरण गरिएको टोलविकास संस्थाले जनाएको छ । टोल विकास संस्थाकी संयोजक गीता नेपालको अध्यक्षता र सचिव अरुणा भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।