तानसेन, पाल्पा । वि.स. २०५३ सालमा निजी विद्यालयको रुपमा तानसेनमा स्थापना भएको पाल्पा प्यारागन इङ्गलिस बोर्डिङ स्कूलले रजत जयन्ती मनाएको छ ।

रजत महोत्सवका प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले पाल्पा प्यारागनले नमुना र गतिशिल काम गरेर अन्तराष्ट्रीय अवार्ड प्राप्त गर्न सफल भएको बताउनु भयो । उहाँले दक्ष, प्रविधियूक्त र आर्टिफिसियल ईन्टेलिजेन्स सञ्चालन गर्न सक्ने विद्यार्थी उत्पादन गर्न जरुरी रहेको समेत उल्लेख गर्नु भयो ।

मन्त्री सारुले आगामी बर्षदेखी लुम्बिनी प्रदेशका सबै विद्यालयमा नर्स कार्यक्रम सञ्चालन गरिने पनि बताउनु भयो । विद्यालय शिक्षालाई स्वास्थ्यमैत्री बनाउँदै गुणस्तरीय शिक्षालाई प्राथमिकता दिन प्रदेश सरकारले आगामी बर्षदेखी प्रदेशभरीका विद्यालयहरुमा घुमन्ते नर्स अभियान सञ्चालनको तयारीमा रहेको उल्लेख गर्नु भयो ।

कार्यक्रममा प्याब्सन पाल्पाका अध्यक्ष डाँसुराम पन्थ, तानसेन नगरपालिका –३ का वडा अध्यक्ष बाबुरत्न शाक्य र सम्मानित व्यक्तित्व साहित्यकार राजेन्द्र गोपाल सिं लगायतले स्कूलले शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश प्रसाद भट्टराईले स्कूल भौतिक रुपमा सुविधा सम्पन्न बन्दै गएको र आगामी दिनमा समय सापेक्षा शिक्षा प्रदान गर्दै जाने बताउनु भयो ।

विद्यालयका प्रिन्सिपल गंगाबहादुर खत्रीले स्कूलको हालसम्मको अवस्था र उपलब्धीका बारेमा प्रतिवेदन प्रस्तुत गर्दै सबैको सहयोग र साथका कारण नै स्कुलले रजत जयन्ती मनाउन सफल भएकोमा सबैलाई धन्वाद दिनु भयो ।

रजत जयन्तीको अवसरमा स्कूलको शैक्षिक, भौतिक क्षेत्रमा योगदान पुर्‍ याउने व्यवस्थापन समितिका पूर्व अध्यक्ष, सदस्य, शिक्षक, कर्मचारी, पत्रकार, परीक्षामा उर्तिण हुने विद्यार्थी, अतिरिक्त क्रियाकलापका विभिन्न विधाहरुमा विजयी विद्यार्थीहरुलाई सम्मान समेत गरेको थियो । सोही अवसरमा पूर्व विद्यार्थी समाजले स्कूलमा अध्ययनरत विद्यार्थीहरुका ७० वर्ष भन्दा माथिका अभिभावहरुलाई सम्मान गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश प्रसाद भट्टराईको अध्यक्षता, विद्यार्थी ओजस्वी पाण्डेको स्वागत , विद्यार्थीहरु केकी बस्याल र आरती बस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न
भएको थियो । ८७ जना विद्यार्थीहरु राखेर पठनपाठन सुरु गरेको विद्यालयमा हाल ३ सय ८ जना विद्यार्थीहरु अध्ययनरत छन् ।