तानसेन, पाल्पा । सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न शुरुवात गरिएको ‘मेरो विद्यालय : मेरो दायित्व’ अभियान शुभारम्भ गर्न लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्री खेम बहादुर सारु आफु पढ्नु भएको तानसेनको जनता माध्यमिक विद्यालय पाल्पा पुग्नु भएको छ ।
लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयको अगुवाइमा शुक्रवारदेखि पाल्पासहित प्रदेशका १२ वटै जिल्लाका १७ विद्यालयमा पहिलो चरणको अभियान एकैसाथ थालनी गरेको छ । सोही अवसरमा मन्त्री सारु उक्त विद्यालय पुग्नु भएको हो ।

पाल्पामा स्वास्थ्य मन्त्री खेमबहादुर सारूले जनता माध्यमिक विद्यालय तानसेनबाट अभियानको शुभारम्भ गर्नु भएको छ । उहाँले यही विद्यालयमा माध्यमिक तहको शिक्षा अध्ययन गर्नु भएको थियो। आफू पढेको विद्यालयप्रति जिम्मेवार बनाउन सकिएमा सामुदायिक विद्यालयको गुणस्तरमा सुधार, आर्थिक अवस्थामा सुधार र पूर्वाधारमा सुधार गर्न सकिने अभिप्रायले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सञ्चालन गरिएको उहाँले बताउनु भयो । आफूले पढेको जनता माविलाई विगतमा पनि सहयोग गर्दै आएको र आगामी दिनमा सहयोग गर्ने मन्त्री सारूले प्रतिबद्धता जनाउनु भयो ।

मन्त्री सारुले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न पूर्व विद्यार्थी र जनप्रतिनिधिदेखि अभिभावकसम्मलाई आफ्नो दायित्व अनुभूति गराउन यो अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो। सामुदायिक विद्यालयप्रति चासो र आफ्नो दायित्वबोध गराउने अभियानको मुख्य उद्देश्य हो उललेख गर्दै उहाँले पूर्व विद्यार्थीले चाहेको अवस्थामा विद्यालयमा धेरै सुविधा र सुधारका काम हुन सक्ने बताउनु भयो ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशभित्रका सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुक्रवारदेखि १२ वटै जिल्लाका १५ वटा विद्यालयमा एकै साथ सुरु गरेको हो। मुख्यमन्त्री, मन्त्री, दुई पूर्व मुख्यमन्त्री, प्रदेश प्रमुख सचिव र प्रदेशसभाका जनप्रतिनिधि आफूले अध्ययन थालेको विद्यालयमा पुग्नु भएको थियो ।