दिल बहादुर खन्गाहा
मित्याल, पाल्पा । निस्दी गाउँपालिका ४ नम्बर वडा कार्यालय मित्याल पाल्पाको सार्वजनिक सुनुवाई तथा अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बालमैत्री सहजकर्ता शेर बहादुर खाम्चाले आर्थिक वर्ष २०८१र०८२ को अर्धवार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो। चालु आर्थिक वर्षमा पालिकाबाट २४ वटा योजना प्राप्त भएकोमा १६ वटा योजनाको सम्झौता भएको र ५ वटा योजना सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ । साथै कृषि, पशु तथा विभिन्न विषयगत शाखाको अर्धवार्षिक समिक्षा तथा प्रगति प्रतिवेदन समेत सार्वजनिक गरिएको छ ।
सहभागीहरुले विशेषगरी शैक्षिक गुणस्तर, यातायात, खानेपानी, बिजुली, बजार व्यवस्थापन, बाल विवाह, कबुलियती वन कार्यक्रमसँग सम्बन्धित जिज्ञासा राखेका थिए । कार्यक्रममा गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक केश बहादुर सुनारी, नेपाली कांग्रेसका प्रतिनिधि अलाङ वीर सुनारी, नेकपा एमालेका धन बहादुर खाम्चाले सुझाव सहित शुभकामना मन्तव्य व्यक्त गर्नु भयो ।
वडाध्यक्ष सन्तवीर सुनारीको अध्यक्षतामा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले उठाएका जिज्ञासाको जवाफ वडाका जनप्रतिनिधि, कर्मचारी तथा कार्यक्रमका प्रमुख अतिथि निस्दी गाउँपालिकाका योजना अधिकृत अर्जुन खनालले दिनुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण पत्रकार धनबहादुर ठाडाले गर्नु भएको थियो ।