पाल्पा । यसवर्ष पाल्पामा अघिल्लो वर्षभन्दा ३ सय ३७ मेट्रिक टन बढी सुन्तला उत्पादन भएको छ । गत वर्ष ८ हजार ८ सय ६१ मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष ९ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।

यस वर्ष ५२ करोड ७६ लाख ८४ हजार बराबरको सुन्तला बिक्री भएको केन्द्रका प्रमुख सन्तोषकुमार चौधरीले जानकारी दिनु भयो । उहाँका अनुसार गत वर्ष ४६ करोड ७ लाख ७२ हजार बराबरको सुन्तला बिक्री भएको थियो । तसर्थ सुन्तला विक्रिबाट अघिल्लो वर्षभन्दा यस वर्ष ६ करोड ६९ लाख बढी रकम जिल्लामा भित्रिएको जानकारी दिनु भयो ।

सुन्तलाको उत्पादन बढेसँगै पाल्पामा नियमित रुपमा सुन्तला महोत्सव तथा बजार प्रवर्धनात्मक कार्यक्रमहरु समेत हुदै आएको छ । यस्तै सुन्तला खरिदकर्ताहरु सुन्तलाको बोटसम्मै पुगेर सुन्तला खरदि गर्ने कार्य समेत गर्न थालेका छन् ।

सुन्तलाबाट राम्रो आम्दानी हुने भएपछि पछिल्लो समय यहाँका किसान व्यावसायिक उत्पादनमा लाग्नुभएको, अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादन क्षेत्र समेत बढेको र बजारीकरण पनि सहज भएको बताउनु भयो ।

उहाँले यस वर्ष रैनादेवीछहरा गाउँपालिकामा ४ सय ५२ हेक्टर क्षेत्रफलमा ३ हजार ६ सय ३९ मेट्रिक टन, रिब्दिकोटमा ३ सय ९६ क्षेत्रफलमा ३ हजार १ सय ८४ मेट्रिक टन, बगनासकालीमा १ सय १३ हेक्टरमा ९ सय १० मेट्रिकटन, पूर्वखोला गाउँपालिकामा ९० हेक्टरमा ७ सय २८ मेट्रिक टन, तानसेन नगरपालिकामा ६८ हेक्टरमा पाँच सय ४६ मेट्रिक टन र माथागढी गाउँपालिकामा ११ हेक्टरमा ९१ मेट्रिक टन सुन्तला उत्पादन भएको समेत जानकारी गराउनु भयो ।

जिल्लामा सुन्तला उत्पादनका लागि १ हजार १ सय ९६ हेक्टर क्षेत्रफल रहेता पनि १ हजार १ सय ३० हेक्टर क्षेत्रफल सुन्तलाको लागि उत्पादनशील क्षेत्र हो । जिल्लाका दश पालिकामध्ये छ वटा पालिकामा व्यावसायिक हिसाबले सुन्तला हुने गरेको छ । अन्नबालीको तुलनामा सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानले व्यावसायिक उत्पादनमा जोड दिएका छन् ।