पाल्पा । प्रधानमन्त्री केपी शर्मा ओलीले पाठेघरको क्यान्सरलाई जनस्वास्थ्यको समस्या नै नहुने गरी अभियान सुरु भएको बताउनु भएको छ । विश्व क्यान्सर दिवसको अवसरमा महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालय काठमाडौंमा पाठेघरको मुखको क्यान्सरविरुद्धको निशुल्क एचपीभी खोप अभियान शुभारम्भ गर्दै उहाँले सरकारले नयाँ काम थालेको बताउनु भएको हो । यस कामले खासगरी पाठेघरको मुखको क्यान्सरजस्तो घातक रोगलाई लाग्नै नदिने भियानको शुरुवात गरेको उल्लेख गर्नु भयो ।

यसै अभियान अन्तर्गत पाठेघरको मुखको क्यान्सर बिरूद्धको खोप अभियानको सुरूवात तथा विश्व क्यान्सर दिवस कार्यक्रम दिव्यज्योति मावि सराई पाल्पामा पनि सम्पन्न भएको छ । उक्त कार्यक्रममा विद्यालयका २ सय २६ जना कक्षा ६-१० सम्मका छात्राहरूले पाठेघर मुखको क्यान्सर बिरूद्धको खोप (HPV) लगाएको प्रधानाध्यापक लोकेन्द्र थापाले जानकारी गराउनु भयो ।
माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाख खनाल, उपप्रमुख काशिका ज्ञवाली, पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदी, माथागढी गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया लुङ्चे, स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पोखरेल, क्षयकुष्ट अधिकृत विश्वनाथ न्यौपाने, माथागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरे, पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष कमलराज तिमल्सेना, माथागढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख केशव जिसी लगायतको सहभागिता रहेको थियो ।

पालिकाले जनाए अनुसार यो अभियान अन्तर्गत माथागढी गाउँपालिका वडा नं.३ कसेनीको विक्रम आधारभूत विद्यालय सिकारकोटमा माघ २३ गते, साहारादेवी नमुना आधारभूत विद्यालयमा माघ २४ गते र माउण्टभ्याली ईङ्गलिस बोडिङ स्कूलमा माघ २५ गते यो खोप लगाउने मिति तय भएको छ ।
माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक यो अभियान सञ्चालन हुँदैछ । देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिब १७ लाख किशोरीलाई यो खोप दिन लागिएको छ ।