खुमबहादुर पौडेल
तानसेन, पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाले पुनः कृष्ण कार्कीलाई अध्यक्ष पदमा चयन गरी आफ्नो जिल्ला अधिवेशन सम्पन्न गरेको छ । पाल्पाको तानसेनमा सम्पन्न ९ औं जिल्ला अधिबेशनले कृष्ण कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा सोभाकान्त पाठक र रिमा सोमै, सचिवमा दयाराज न्यौपाने, सहसचिवमा भुवन रायमाझी र कोषाध्यक्षमा नेत्र गैरेलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा जनक राज भट्टराई, सुवास विसी, खेमराज पाण्डे, गुणवती केसी, प्रेम वाकावल, खुम बहादुर पौडेल र सुमित्रा कंडेल चयन भएका छन् । प्रदेश प्रतिनिधीमा गिता ज्ञवाली र नवराज ज्ञवाली तथा केन्द्रिय प्रतिनिधीमा बन्दना पोखरेल, सन्तोष बस्याल र टिकाराम बस्याललाई छनौट गरेको छ ।

प्रेस चौतारी नेपाल पाल्पाको उक्त अधिबेशन समारोहमा बोल्नु हुदै केन्द्रीय अध्यक्ष गणेश बस्नेतले स्थानीय विज्ञापन स्थानीय मिडियालाई नै दिने अनिवार्य व्यवस्था मिलाउन कानुन संशोधन गर्न जरुरी रहेको बताउनु भयो । अहिले मिडिया कसरी टिकाउने भन्ने विषय चुनौतिको रुपमा रहेको उल्लेख गर्दै उहाँले अब स्थानीय विज्ञापन स्थानीय मिडियाका लागि नै दिने व्यवस्था गर्न सरकारलाई आग्रह गर्नु भयो ।
उहाँले सामाजिक सञ्जाल र पत्रकारिता फरक विषय भएको बताउदै सरकारले ल्याएको सामाजिक विधेयक पत्रकारितालाई अंकुस लगाउन नभई सामाजिक सञ्जाललाई नियन्त्रण गर्न ल्याएको दावी गर्नु भयो । अध्यक्ष बस्नेतले प्रेस चौतारी नेपालले नेपालको पत्रकारिता र सूचनाको अधिकारका क्षेत्रमा गौरव गर्न लायकको काम गरेको पनि बताउनु भयो । पत्रकारिताले सत्यको आधारमा तथ्य स्थापित गर्नुपर्नेमा उहाँको जोड थियो।

कार्यक्रमा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सघीय सांसद ठाकुर गैरेले भ्रामक तथ्यहिन सुचनाले मुलधारका मिडियाहरु संकटमा रहेको उल्लेख गर्नु भयो । सामाजिक सञ्जालमा आएका भ्रामक सूचनाले मूलधारका मिडियाहरुलाई चुनौति रहेकाले त्यसतर्फ सचेतना हुनुपर्नेमा जोड दिदै सांसद गैरेले देश परिवर्तनका लागि सकारात्मक सोच आवश्यक रहेकोले अराजगकता फैकाउने र जनतालाई भ्रममा पार्ने कार्यलाई नियन्त्रण गर्न सरकारले सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याएको बताउनु भयो ।

एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधा कृष्ण कंडेलले समाज र पत्रकारिता क्षेत्रमा अराजकता बढ्दै गएकाले त्यसलाई पत्रकारले नै निरुत्साहित गर्नुपर्नेमा जोड दिनु भयो। चौतारीका केन्द्रिय परिषद सदस्य मेघराज शर्माले पत्रकारिता भित्रको विकृती पत्रकार आफैले हटाउनु पर्ने बताउनु भयो । एमालेका जिल्ला अध्यक्ष ओमबहादुर घर्तीले अहिले आर्थिक क्रान्तिको आवश्यकता रहेकाले त्यसतर्फ कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नु भयो ।

समारोहमा पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा, पत्रकार महासंघका जिल्ला अध्यक्ष कमलराज तिमिल्सिना, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल लगायतले समाजमा देखिएका विकृति र विसंगतीहरुलाई पत्रकारहरुले सशक्त ढंगले उठान गर्न आवश्यक रहेको उल्लेख गर्नु भयो ।
चौतारीले अधिवेशनको अवसरमा संस्थाको विकासमा योगदान पुर्याएका विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेको थियो । चौतारीका जिल्लाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता, उपाध्यक्ष बन्दना पोखरेलको स्वागत तथा सचिव नारायण न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।