बुटवल । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकहरुको सम्मान, उनीहरुको सुरक्षा र चाहनाप्रति राज्य विमुख हुन नमिल्ने भन्दै वर्तमान सरकार यी तीनैवटा कुराका निम्ति सचेत र संवेदनशील रहेको बताउनु भयो।
रुपन्देहीको तिलोत्तमामा बन्न लागेको ज्येष्ठ नागरिक मिलन केन्द्र दिवा सेवाको अत्याधुनिक भवनको शिलान्यास कार्यक्रममा बोल्नु हुदै मन्त्री पौडेलले ज्येष्ठ नागरिकप्रति सरकार सचेत र संवेदनशील रहेको बताउनु भयो । ज्येष्ठ नागरिकहरुको सम्मान तथा उहाँहरुको सुरक्षा र चाहनाप्रति राज्य विमुख हुन नमिल्ने भन्दै अर्थमन्त्री पौडेलले २०५२ सालमै तत्कालीन मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागकिहरुको सम्मान स्वरुप सामाजिक सुरक्षा भत्ताको सुरुवात गरेको स्मरण गर्नु भयो ।
तत्कालीन अवस्थामा एक सय रुपियाँबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता आफू अर्थमन्त्री हुँदा चारहजार रुपियाँ पु¥याउने अवसर पाएको भन्दै यसको श्रेय भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई जाने उल्लेख गर्नु भयो । बजेट निर्माणका बेलामा प्रधानमन्त्री ओलीले आफुलाई ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाएर व्यवस्था गर्न भन्नु भएकोले सोही निर्देशन बमोजिम नै सामाजिक सुरक्षा भत्ता वृद्धि भएको बताउनु भयो । उहाँले नागरिकका लागि सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुको ठूलो अर्थ र महत्व रहेको भन्दै यसले ज्येष्ठ नागरिकप्रति राज्य जिम्मेवार बन्नुपर्छ भन्ने कुरालाई आत्मसात गरेको समेत बताउनु भयो ।
रुपन्देहीमा ज्येष्ठ नागरिक मिलन केन्द्रले ज्येष्ठ नागरिकहरुका इच्छा र आकांक्षालाई पूरा गर्दै अघि बढिरहेको भन्दै उहाँले अव बन्न लागेको अत्याधुनिक भवनका लागि सरकारको तर्फबाट यथोचित संबोधन हुने पनि आश्वासन दिलाउनु भयो । कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले राज्यले गर्नुपर्ने काम समुदायस्तरबाट भएको भन्दै प्रशंसा व्यक्त गर्नु भयो । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले ज्येष्ठ नागरिक मिलन केन्द्रका लागि नगरपालिकाले पनि सहयोग र सहकार्य गर्ने बताउनु भयो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ मा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रमा दिवा सेवा प्रदान गर्ने गरी पाँचयस जना ज्येष्ठ नागरिकलाई सेवा दिने लक्ष्यसहित अत्याधुनिक भवन बन्न लागेको हो । यो भवन पाँच तलाको हुने केन्द्रका अध्यक्ष ऋषि भण्डारीले जानकारी दिनु भयो ।
कार्यक्रममा केन्द्रका उपाध्यक्ष यदुनाथ पाण्डे र सचिव दया भण्डारी लगायतले ज्येष्ठ नागरिक मिलन केन्द्रले गरिरहेको सेवाका सम्बन्धमा प्रकाश पार्नु भएका ेथियो । सोही अवसरमा ज्येष्ठ नागरिकद्वय रोमनाथ कंडेल र नर्मदा अर्यालले यहाँको वातावरणमा आफूहरु रोगमुक्त भएको र खुसीसाथ जीवन बिताउन पाएको अनुभव सुनाउनु भएको थियो ।