गल्धा, पाल्पा । विगत चार वर्षदेखि युरोपमा अदुवा निर्यात गर्दै आएको सामाजिक उद्यमी महिला सहकारी संस्था निस्दी ५ गल्धा पाल्पाले यस वर्षदेखि सिमीको समेत निर्यात गर्ने भएको छ । यसका लागि संस्थाले आवश्यक कार्यहरु गरिरहेको छ ।

हेफर इन्टरनेशनल प्रालि र ग्रामीण आर्थिक विकास संघ रेडाको समन्वयमा अकिस्टा नेपाल प्रालि मार्फत सिमी र अदुवा प्रमाणित गरेर जर्मनी पठाउने तयारी भइरहेको सहकारीका अध्यक्ष अममाया मश्राङ्गीले बताउनु भयो । सहकारीले सिमी २० टन, सुकेको अदुवा १० टन र काँचो अदुवा २० टन पठाउन लागेको अध्यक्ष मश्राङ्गीले बताउनु भयो ।

विदेशबाट आएको माग पूरा गर्नका लागि सहकारीका शेयर सदस्यहरुले उत्पादन गरेको सिमी र अदुवा खरिद गरेको व्यवस्थापक दिल माया सारुले बताउनु भयो । अहिले सिमी र अदुवाको ग्रेडिङ गर्ने काम भइरहेको र अबको २ महिना पछि ग्रेडिङको काम सकाएर जर्मनी पठाउने सारुले जानकारी दिनु भयो । ग्रेडिङको लागि सहकारीका २८ जना शेयर सदस्य महिलाहरुलाई दैनिक ज्यालादारीमा परिचालन गरिएको छ ।

यसरी आफुहरुले उत्पादन गरेको सिमी र आदुवा सहकारीले खरिद गरेपछि यहाँका कृषकहरू उत्साहित भएका छन । यसअघि यस सहकारी संस्थाले दशैं तिहारको अवसरमा १ करोड ४५ लाख बराबरको खसी बोका बिक्री गरेका थिए ।