माया राना
जल्पा, पाल्पा । पूर्वखोला गाउँपालिका पाल्पाले शैक्षिक योजना निर्माणका लागि विज्ञहरूसँग अनुभव आदान प्रदान अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले भौतिक विकाससँगै मानव संसाधनको विकास महत्त्वपूर्ण रहेको बताउनु भयो । उहाँले आर्थिक समृद्धिसँगै रोजगारी सिर्जना गर्न सक्ने शिक्षा नीति आवश्यक रहेको उल्लेख गर्दै अहिलेको प्रविधि र कृत्रिम बुद्धिमत्तालाई समेटेर विद्यार्थीमैत्री शिक्षा योजना बनाउनु पर्नेमा जोड दिनु भयो । विद्यार्थीहरूले जीवनोपयोगी शिक्षा प्राप्त गर्नुपर्छ भन्दै नेतृत्व क्षमता, सञ्चार सीप र उद्यमशीलता वृद्धि गर्ने खालका शैक्षिक कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नु भयो । नेता, नेतृत्व र व्यवस्थापन शिक्षाको सबैभन्दा महत्त्वपूर्ण पाटो भएको समेत बताउनु भयो ।

लुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्रीका शिक्षा विज्ञ दलबहादुर गुरुङले संविधान प्रदत्त अधिकार अन्तर्गत प्रदेश सरकारले शिक्षा क्षेत्रको सुधारका लागि अपनाएको नीति स्पष्ट पार्दै सबै कुरा कार्यान्वयन गर्ने थलो विद्यालयको कक्षाकोठा भएकोले शिक्षक एवम् प्रधानाध्यापकहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनु भयो । उहाँले प्रधानाध्यापकले सिक्ने र सिकाउने वातावरण व्यवस्थापन गर्नु पर्ने तथा शिक्षकले सिक्ने र सिकाउने काममा आफूलाई निरन्तर गतिशील बनाउनु पर्नेमा जोड दिनु भयो ।

कालिका मानवज्ञान माध्यमिक विद्यालयका पूर्वअध्यक्ष तथा बुटवल कालिका क्याम्पसका अध्यक्ष होम बहादुर गलामीले विद्यालय व्यवस्थापन समितिहरू प्रभावकारी बनाउन, विद्यालय सुधारका लागि सामुदायिक सहभागिता अपरिहार्य रहेको बताउँदै व्यवस्थापनलाई पारदर्शी बनाउनुपर्नेमा पनि जोड दिनु भयो ।

कार्यक्रममा विशेष सहजीकरण प्रस्तुत गर्नु भएका कालिका मानवज्ञान माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक तथा बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठकले विद्यालय सुधारका विभिन्न उपायहरु प्रस्तुत गर्नु भएको थियो । उहाँले विद्यालयमा सक्षम नेतृत्वदायी प्रधानाध्यापकको आवश्यकतासँगै विद्यालय कर्मचारी छनोटमा नातावाद कृपावाद भन्दा योग्यताका आधारमा छनोट गर्ने, विद्यार्थी भर्ना गर्दा ज्ञानस्तरलाई मात्र ध्यानमा राख्ने होइन उमेरलाई ध्यान दिनुपर्ने, विद्यालयको नतिजा विश्लेषण गर्दै सुधारका उपायहरू अवलम्बन गर्ने, शिक्षक तथा विद्यार्थीलाई पुरस्कार प्रणाली लागू गर्ने, संस्कार सिकाउँदै विद्यालयमा अनुशासन स्वचालित बनाउने, मनोसामाजिक परामर्शलाई प्राथमिकता दिनुपर्ने लगायतका विषयहरू सुझावको रुपमा प्रस्तुत गर्नु भयो ।

पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले सामुदायिक विद्यालयको स्तर सुधार गर्न कस्तो नीति, योजना र कार्यान्वयन प्रभावकारी हुन्छ भन्ने बुझ्नका लागि यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । गाउँपालिकाकी उपाध्यक्ष भागिरथी भट्टराईले विद्यालय सुधारका लागि स्थानीय सरकारको प्रतिबद्धता व्यक्त गर्नु भयो ।कार्यक्रममा गाउँपालिकाका प्रवक्ता मेहरसिं थापाले सहभागीलाई स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा कालिका मानवज्ञान माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली तथा गाउँपालिकाका माध्यमिक तह पढाइ हुने विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्षहरू, वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्यहरू सहभागी भएका थिए।

पूर्वखोला गाउँपालिकाले शिक्षालाई प्राथमिकता दिँदै विभिन्न ठाउँका विज्ञ, प्रधानाध्यापक, शिक्षक, तथा स्थानीय सरकारबीचको सहकार्यमा विद्यालय सुधारको अभियान अघि बढाउने संकेत गरेको छ। साथै पालिकाले संस्थागत विद्यालयलाई सामुदायिक विद्यालयमा गाभेर सञ्चालन गरेको छ ।