माया राना, पूर्वखोला २ जल्पा, पाल्पा / कुरो माघ १८ गतेको हो । गन्तव्य थियो सैना मैना नगरपालिका सेरुवा रुपन्देही सम्मको । चाहानालाई बाहानाले नछेक्दो रहेछ । व्यस्तताको बाहानामा अस्तब्यस्त नबनौं कि भन्ने लाग्यो । समयको व्यवस्थापन त आफुले नै गर्ने कुरा न हो । घरको काम धेरै छ भन्दै थुप्रै अवसर लिन नचाहने महिलाहरु पनि हुन्छन् । एक दिने यात्राको लागि महिला कल्यण परिवार जल्पाकी अध्यक्ष लिला सारु र सचिव टोलसरी राईले अनुरोध गरिरहनु भयो । यो कुरा नकार्न मन लागेन । महिला कल्याण परिवार जल्पा वडाभरीको महिलाहरुको नेतृत्व गर्ने संजाल हो । हरेक बर्ष जसो बिभिन्न निकाय वडासँग समन्वय गरेर बार्षिक कार्ययोजना अनुसार काम गरिरहेको हुन्छ । यो समूहको नेतृवमा थुप्रै महिला दिदिबहिनिहरुले शिप सिकेका छन, ज्ञान वटुलेका छन र कृषिमा आत्मनिर्भर समेत भएका छन् ।

बिहान ७ बजे जल्पा देखि हिड्ने सल्लाह भए पनि ९ वटै टोलका जम्मा हुँदा एक घान्टा ढिला भएको थियो । हाम्रो यात्रामा साथ दिन तयार कमल भाईले बस स्टार्ट गरेर तयार थिए । अव भ्रमण टोली जल्पालाई विस्तारै छाया पार्दै अघि बढ्यो । जल्पाको तल्लो भेग (दद्रा,राक्से र छाब्दी)का साथीहरुको पर्खाइ खिर्ला भङ्ज्याङ्ग (पूर्वखोला गाँउपालिका र देवीनगर जल्पा तिर छुट्टिने चोक) को बसाई सुनौलो बिहानीको किरणसंगै रमाइलै थियो । करिब एक घण्टा पर्खाईपछि उहाँहरु आईपुग्नु भयो अनि शुरु भयो बुटवलसम्मको यात्रा ।

सधैं हिडिरहने बाटो भएर होला, त्यति उत्सुक लागेको थिएन । तैपनि गन्तब्यको यात्रा रमाईलो गर्दै अघि बढिरहयो । बुटवलमा खाना खाएर सकिदा दिउँसोको एक बजे पार भैंसकेको थियो । ५८ जनाको समुहमा ब्याबस्थापन गर्ने काम पनि सजिलो त पक्कै थिएन तैपनि ब्याबस्थापन पक्षको भूमिकामा समूहका अध्यक्ष र सचिव खुब खटिरहनु भएको थियो ।

अबको यात्रा गन्तब्यतिर :

बुटवल बजार देखि १४ किलोमिटर पश्चिम रोड बेलबास, तामनगर कटेपछि सैनामैना नगरपालिका पुगिने रहेछ । समूहलाई सिकाउनु र देखाउनु यही स्थानको जैविक मल उत्पादन थियो । त्यो देखेर हेरेर कृषि गरिरहेका जल्पाका महिलाहरुले पनि केही सिकेर सम्भव भएका कुराहरु आफ्नो गाउँठाउँमा सक्दो लागु गर्न सकुन भन्ने नै भ्रमणको उद्देश्य हो । हरेक चिजको लगानी पछि प्रतिफलको आशा रहेकै हुन्छ । हामीले पनि यो अवलोकनबाट फर्के पछि केही शुरुवात गरौँ गरौँ जस्तो लाग्ने प्रशिक्षण गराउनु भयो रैना देवी एग्रो ईन्डस्ट्रीजका याम दर्लामी सरले । उहाँले विभिन्न ठाउँमा आफुले संचालन गर्नु भएको उद्योग लगायत जैबिक मलको महत्व, फाइदा, मल बन्ने सामान्य तरिका र प्राङ्गारिक खेतीमा प्रयोग हुने जैबिक मलको बारेमा जानकारी दिनु भयो ।

करिव एक घन्टाको बसाई पछि केही सिकौं, गरौं गरौं लाग्ने, आफ्नै ठाउँमा यस्तै उत्पादन दिन सके ! निरन्तरता दिन सके ! प्रकृतिले दिएको बनस्पती प्रयोग गर्दै  कृषिमा क्रान्ती गर्न सके आफ्नै गाँउ ठाउँमै रोजगारी पाउथे होला ! खाडि मुलुक पसेर पनि त महिनामा ३०/४० हजार न हो कमाउने ! जन मानसिकतामा आफ्नै ठाउँको रोजगारलाई सम्मान गर्न कहिले सिकाउन सकिएला ?? यस्तै यस्तै तर्कना र परिकल्पना सहित हामी त्यहाँबाट फर्क्यौ ।

कुरा उद्यमीकै :

पश्चिम हाइवयबाट बुटवल शहर तर्फ फर्किदै थियौं । धेरै जसोको मनमा लागेको हुदोहो आजको उद्देश्य पुरा भयो । कुनै रमाइलो ठाउँ हेरौं । बुटवलमा त्यस्ता रमाइलो पार्क, हेर्न लायक ठाउँहरु थुप्रै छन । सबैलाई थाहा भएको कुनै ठाउँमा जाऔं न भन्ने छलफल चलिरहेको थियो । हामी बुटवल फुलबारी नजिक आउदै थियौं । हामीसँग पूर्वखोला गाँउपालिका वडा नं. २ जल्पाका वडाध्यक्ष निर वहादुर सारु सर पनि हुनुहुन्थ्यो । रमाइलोसंगै शिक्षा र सचेतना दिने उद्देश्य उहाँको । अब हामी बुटवलको हिलपार्क जादैछौं भन्नु भयो ।

हामी सबैलाई लाग्यो कि केही दृश्यावलोकनको लागि जादैछौं । तर फरक रहेछ । हाम्रो गाडी लुम्बिनि प्रदेश सरकार उद्योग पर्यटन परिषद्को अफिस अगाडि रोकियो । अफिसमा हामी प्रबेश गर्दै गर्दा लायन्स क्लब अफ बुटवल तिलोत्तमा लायन्स क्लब अफ लेडी डाइनामिक र लायन्स क्लब अफ बुटवल एशियनका पदाधिकारीहरु हाम्रो स्वागतको लागि बस्नु भएको रहेछ । एक ब्यबस्थित कार्यक्रमको लागि समन्वय र आयोजना भैरहेको रहेछ । एक औपचरिक कार्यक्रम बिच सस्थागत सम्बन्ध बिस्तार र भेट्घाट कार्यक्रम भयो ।

सफल महिला उद्यमीहरुले आ-आफ्नो सफलताका कथा सुनाउनु भयो । हामीसंगै रहनु हुने अध्यक्ष सारुले सकारात्मक भाइब्रेशनले मात्र आफुमा परिवर्तन गर्न सकिने बिचार राख्नु भयो । हाम्रो समुहको अध्यक्ष लिला सारुले सस्थागत परिचय सहित आफ्नो भनाई राख्नु भयो ।

साँझको ७ बजे बुटवलबाट फर्केका थियौं । बसभित्रको गुन्जायमान रमाइलो यात्रा सहित समयमै आ-आफ्नो घर आईपुग्न सफल भयौं । यो यात्रालाई थप रमाइलो सहित ब्याबस्थापनको भूमिका खेल्नु हुने महिला कल्यण परिवारकी अध्यक्ष लिला सारु र सचिव टोलसरी राई लगायत सम्पुर्ण टिम, महिलाहरुको कार्यक्रम सफल पार्न सधैं हौसला र सहयोग गर्नु हुने पदम थापा दर्लामी सर, लेख कुमार सारु सर, बेद प्रसाद बस्यल, बिनय पेमी, भिम जर्घा तथा सुरक्षित यात्राको लागि कमल गुरुलाई धेरै धेरै धन्यवाद !