तानसेन, पाल्पा । पाल्पाली कलाकार किरण चित्रकारले बेस्ट स्टेज प्रोफमरको उपाधि हात पार्नु भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा भएको ‘इन्डो नेपाल सुजन म्यूजिक अवार्ड– २०२४’ मा उहाँले उक्त उपाधि हात पार्नु भएको हो।

चित्रकार टप फाइपमा पर्नु भएको थियो । स्टेजमा राम्रो प्रस्तुुती दिएका कारण नै उहाँले उक्त उपाधि हात पार्न सफल हुनु भएको हो । चित्रकारले नेपाली लोक संस्कृतिको संरक्षणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको छ ।

यस्तै उक्त कार्यक्रममा गुल्मी इस्मा गाउँपालिका– २ रातडाँडाका माधव पाण्डे ‘उत्कृष्ट गीतकार’ का रुपमा पुरस्कृत हुनु भयो । पाण्डेले ‘तिमी रैछौं बैगुुनी’ गीतबाट उत्कृष्ट गीतकारको पुरस्कार हात पार्न सफल हुनु भएको हो । लामो समयदेखि भारतमा बसेर पनि नेपाली लोक संस्कृतिको संरक्षणमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको छ ।

लोक संस्कृतिको जर्गेना गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल र भारतका दर्जनौँ कलाकारको उपस्थिति रहेको थियो । सो अवसरमा अवार्डका विभिन्न विधामा विजेता कलाकारहरुलाई अवार्ड प्रदान गरिएको हो । उक्त कार्यक्रममा लोक दोहोरी गायिका एवम् मोडल रिया रेग्मीले मोडल अवार्डको विजेता बन्नु भयो। रियाले ‘रहरै भो’ गीतबाट सर्वोत्कृष्ट नयाँ मोडलको अवार्ड हात पार्नु भएको हो । कलाकारिता क्षेत्रमा प्रवेश गरेको २ वर्षमै रियाले यो अवार्ड लगायत धेरै सफलता हात पार्न सफल हुनु भउको छ ।

सुजन म्यूजिक प्रा.लि.की अध्यक्ष जमुना रानाले भारतमा नेपालीहरुको अवार्ड कार्यक्रम दोस्रो पटक आयोजना गरिएको बताउनु भयो । सुजन म्यूजिक प्रा.लि.को आयोजनामा नेपाल र भारतमा रहेका संगीतकर्मीहरुको नेपाली गीत संगीतप्रतिको योगदानलाई सम्मान गर्न यसवर्ष पनि अवार्ड कार्यक्रम भएको हो । अवार्ड कार्यक्रमका लागि मनोनयन फाराम खुल्ला गरेर सम्पूर्ण प्रक्रिया पूरा गरि भोटिङमा धेरै मत प्राप्त गरेका व्यक्तित्वलाई विजयी घोषणा गरिएको थियो ।

सो अवार्ड कार्यक्रममा विभिन्न ३३ विधामा अवार्ड वितरण गरिएको थियो भने सांगीतिक क्षेत्रमा योगदान दिएका विभिन्न ब्यक्ति र स्रष्टाहरुलाई पनि सम्मान गरिएको थियो । अवार्ड कार्यक्रमको नोमिनेशन नेपालमा भएको थियो भने फाइनल कार्यक्रम भारतको नयाँ दिल्लीमा भएको हो ।