तिनाउ, पाल्पा । तिनाउ गाउँपालिका पाल्पामा संचालन भएको छैटौं राष्ट्रपति रनिङ शिल्डको उपाधि पृथ्वी प्रकाश माध्यमिक विद्यालय सत्यवतीले हात पारेकोछ ।

गत वर्षको समेत बिजेता रहेको पृथ्वी प्रकाश माविले ७ स्वर्ण ४ रजत र ६ कास्य सहित कुल १७ पदक जितेर पहिलो भएको हो । यस्तै प्रतियोगितामा ४ स्वर्ण, ६ रजत र २ कास्य सहित कुल १२ पदक जितेर तिलोत्तमा माध्यमिक विद्यालय झुम्सा दोस्रो र थानिडाँडा माध्यमिक विद्यालयले ४ स्वर्ण, ३ कास्य पदक गरी ७ पदक प्राप्त गरेर तेस्रो भयो ।

गाउँपालिका भित्र रहेका ९ वटा माध्यमिक विद्यालयका विद्यार्थी खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा मस्याम माध्यमिक विद्यालयले ३ स्वर्ण, ५ रजत र ६ कास्य पदक र दोभान माध्यमिक विद्यालयले ३ स्वर्ण, ३ रजत र ३ कास्य पदक प्राप्त गरेको थियो । यस्तै ज्ञानोदय माध्यमिक विद्यालयले ३ स्वर्ण, १ रजत र ७ कास्य पदक, बुद्ध विकास माध्यमिक विद्यालयले २ स्वर्ण, ५ रजत र १ कास्य पदक, युवा वर्ष माध्यमिक विद्यालयले १ स्वर्ण, २ रजत र ६ कास्य पदक तथा जनदिप माध्यमिक विद्यालयले १ स्वर्ण र २ रजत पदक प्राप्त गरेका थिए ।

प्रतियोगितामा बिजयी विद्यार्थी तथा विद्यालयलाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले अनुशासीत र मेहनतका साथ खेललाई निरन्तरता दिएर आफ्नो पहिचान बनाउन खेलाडीहरुलाई आग्रह गर्नुभयो । उहाँले विकासको मुल आधार शिक्षा क्षेत्र भएकोले विद्यालयस्तरमा यस्ता प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान हुने समेत बताउनु भयो । खेलकुदले मानसिक र शारीरिक रुपमा तन्दुरुस्त राख्न मद्दत गर्ने भएकोले सिकाई उपलब्धी पनि बढ्ने मन्त्री तिमिल्सिनाले उल्लेख गर्नु भयो ।

स्थानीय सरकारले बजेट व्यवस्थापन गरेर यस वर्षको रनिङ शिल्ड प्रतियोगिता गरिएको हो । स्कुल जीवनदेखि नै खेलकुदको विकास गर्न र पालिकाको खेलकुदको स्तर राम्रो बनाउन गाउँपालिकाले विशेष प्राथमिकताका साथ प्रतियोगिताले चलाएको अध्यक्ष प्रेम श्रेष्ठको बताउनु भयो।