दिलबहादुर खन्गाहा
निस्दी, पाल्पा । निस्दी गाउँपालिका पाल्पाको झ्याल्टुङ्ग मैदानमा संचालित छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ सफतापूर्वक सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा ८ स्वर्ण, ४ रजत र १ कास्य पदक सहित सरस्वती मावि निस्दी ५ गल्धा कठैडाँडा पहिलो भयो । त्यसैगरी दोस्रो स्थानमा रहेको जनता माध्यमिक विद्यालय निस्दी ५ ढुंगानाबेसीले ६ स्वर्ण, ४ रजत र ३ कास्य पदक प्राप्त गरेको थियो । बालहित माध्यमिक विद्यालय निस्दी २ सहलकोटले २ स्वर्ण, १ रजत र ४ कास्य सहित तेस्रो भएको थियो । प्रतियोगितामा बिजयी हुने विद्यार्थीहरुलाई लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र वितरण गर्नु भयो ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका प्रदेश सभा सदस्य श्रेष्ठले खेलकुदको माध्यमबाट खेलाडिहरुले आफ्नो गाउँ ठाउँ र देशकै लागि योगदान पुर्‍याएको चर्चा गर्नु भयो । उहाँले खेलकुदले अनुशासित हुन र सामूहिक कार्य गर्न सिकाएको समेत उल्लेख गर्नु भयो ।

कार्यक्रमका विशिष्ट अतिथि पाल्पाका प्रमुख जिल्ला अधिकारी तोया नारायण सुवेदीले विद्यार्थीहरुले खेलकुदका साथसाथै शैक्षिक प्रगतिमा समेत ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले निस्दी गाउँपालिका राजस्व संकलनमा पाल्पा जिल्लाकै नमुना गाउँपालिका रहेको बताउनु हुँदै निस्दीको खानी र पर्यटकीय क्षेत्रहरूको संरक्षण र सम्बर्द्धन गर्नु पर्नेमा जोड दिनु भयो।

निस्दी गाउँपालिका भित्रका १२ वटा विद्यालयहरुको सहभागिता रहेको छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षता र बालमैत्री शाखाका संयोजक कुश्माखर पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।