तानसेन, पाल्पा। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले प्रतिशोधको भावनाले काम गरिरहेको आरोप लगाउनु भएको छ ।

उहाँले सरकार स्वेच्छाचारी ढंगले शासन गर्ने प्रयासमा लागेको समेत बताउनु भएको छ । प्रेस सेन्टर पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव पुनले दुई तिहाइ बहुमतको दाबी गर्ने सरकारले संवैधानिक प्रक्रिया अवलम्बन नगरी अध्यादेशमार्फत शासन चलाउन खोज्नु गलत भएको बताउनु भयो ।

‘संसद् छलेर विनाकारण अध्यादेश ल्याउनु संविधान विपरीत छ,’ उहाँले भन्नु भयो, ‘संसद्को अवहेलना गर्दै अध्यादेश जारी गरेर देश चलाउन खोजिएको छ, जुन स्वेच्छाचारी शासनतर्फको संकेत हो।’ उहाँले संविधानले अध्यादेशको व्यवस्था गरे पनि अति जरुरी परिस्थितिमा मात्र यसको प्रयोग गर्नुपर्ने बताउनु भयो।

पूर्वअर्थमन्त्री समेत रहनु भएका पुनले देशको अर्थतन्त्र सुधार गर्न सरकारले कुनै ठोस पहल नगरेको उल्लेख गर्नु भयो। उहाँले प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा गरेका कामलाई निरन्तरता नदिर्इ हालको सरकार अन्य बाटोमा लागेको र त्यसकै कारण छ महिनाको अवधिमा पनि ठोस काम हुन नसकेको आरोप लगाउनु भयो।