पाल्पा । सिर्जनशील गंगा साहित्यिक पुरस्कारबाट पाल्पाली साहित्यकार तथा पत्रकार मन गहिरे पुरस्कृत हुनु भएको छ। सिर्जनशील साहित्यिक समाज (सिसास) भैरहवाले आफ्नो २१ औं वार्षिकोत्सवको उपलक्ष्यमा गहिरेलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो ।
नेपाली साहित्य क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको मूल्याड्ढन गर्दै गहिरेलाई सम्मान गरिएको संस्थाले जनाएको छ । हरेक वर्ष सिसासले एक जना श्रष्टालाई सम्मान गर्दै आएको छ । गहिरेले नेपाली साहित्य, पत्रकारिता, सामाजिक, शैक्षिक क्षेत्रमा अथक साधकका रुपमा आफ्नो परिचय बनाउनु भएको छ। उहाँले कथा र कविता संग्रहहरु प्रकाशित गर्नु भएको छ ।

सिसासले गहिरे सहित सिर्जनशील श्री फाइनान्स साहित्यिक पुरस्कारबाट वरिष्ठ कवि तथा समालोचक ऋषिराम भूषाल, सिर्जनशील स्रष्टा सम्मानबाट संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार कमल पोख्रेल ‘निश्छल’, सिर्जनशील छविलाल साहित्यिक पुरस्कारबाट बुटवलका स्रष्टा यज्ञलाल सुवेदी, सिर्जनशील रमाकान्त साहित्यिक पुरस्कारबाट भैरहवाका स्रष्टा ह्दय लेकाली तथा सिर्जनशील काशी प्रतिभा पुरस्कारबाट नव दुर्गा माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र समीर बानियाँलाई पुरस्कृत तथा सम्मान गरेको थियो ।
सम्मानित व्यक्तिहरुलाई नेपाल प्रज्ञा परिषद्का आजीवन सदस्य प्राज्ञ बूँद राना, संस्थाका उपाध्यक्ष विष्णुप्रसाद गजुरेलले प्रमाणपत्रले सम्मान गर्नु भयो ।

कार्यक्रममा संस्थाका विशिष्ट सदस्य आख्यानकार वनमाली निराकार, संस्थाका सल्लाहकार तथा सहिद स्मृति पुस्तकालयका अध्यक्ष रूद्र ज्ञवाली, साहित्यकार विजय सागर , सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराई, साहित्य परिषद् नवलपरासीका अध्यक्ष डा। श्याम प्रसाद न्यौपाने, संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार सुरज घिमिरे ‘दीपशिखा’, पूर्व अध्यक्ष एवम् सल्लाहकार शशि पन्थी, पूर्व अध्यक्षहरू छवि ज्ञवाली, छविलाल न्यौपाने, तेजप्रसाद पन्थ, सुवास रिजाल ‘यात्री’ लगायतले आ–आफ्ना धारणा राख्नु भएको थियो ।
कार्यक्रममा कमला भण्डारी ढकाल, सागर के.सी., खगेन्द्र बस्याल, विशाल गुप्ता लगायतका श्रष्ठाले रचना वाचन गरेका थिए । संस्थाका उपाध्यक्ष विष्णुप्रसाद गजुरेलको अध्यक्षता, कोषाध्यक्ष सिर्जना खनालको स्वागत, सचिव रामराज गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।