प्रेम बगाले
बगनासकाली, पाल्पा । बगनासकाली गाउँपालिका पाल्पाले यही माघ ७ गतेदेखि १५ गतेसम्म सञ्चालन गरेको सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परीक्षण सहितको घुम्ती शिविरबाट एक हजार बढी नागरिक लाभान्वित भएका छन् ।
गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीका अनुसार नागरिकलाई सहज र सरल रूपमा घरदैलोमै सेवा प्रवाह गर्नका लागि वडास्तरमा सामाजिक सुरक्षा भत्ता वितरणसहितको शिविर सञ्चालन गरिएको हो । शिविरमा सामाजिक सुरक्षा भत्तातर्फ १ हजार ६ जना र स्वास्थ्य सेवातर्फ ५३० जनाले सेवा लिएको गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख भोजराज भट्टराईले जानकारी दिनु भयो । नेपाल बैंकसँगको समन्वयमा गाउँपालिकाले वडास्तरमा सामाजिक सुरक्षा समेत वितरण गरिएको थियो ।

शिविरमा जेष्ठ नागरिक, दलित जेष्ठ, एकल जेष्ठ, विधवा आर्थिक सहायता, क वर्गका अपाङ्गता, ख वर्गका अपाङ्गता र दलित बालपोषण प्राप्त गर्न योग्य लाभग्राहीले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नुभएको थियो भने स्वास्थ्य परामर्श, चेकजाँच र औषधि वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले दोस्रो त्रैमासिक अन्तर्गत कार्तिक, मंसिर र पुष महिनाको सामाजिक सुरक्षा भत्ता पुष तेस्रो सातानै सम्बन्धित लाभग्राहीको खातामा जम्मा गरिदिएको थियो ।
बगनासकाली गाउँपालिकामा दोस्रो त्रैमासिकमा वडा नम्बर १ देखि ९ सम्म अन्य जेष्ठ नागरिक १९८३ जना, जेष्ठ दलित १४३ जना, जेष्ठ एकल २७१, विधवा आर्थिक सहायता ४४१, क वर्गका अपांगता भएका ५२, ख वर्गका अपांगता १०८ र दलित बालपोषण १९३ गरी ३ हजार १ सय ९१ लाभग्राही रहेका छन् । ३ हजार १ सय ९१ लाभग्राहीको लागि गाउँपालिकाले ३ करोड १८ लाख ७३ हजार ३ सय ८९ रुपैंया निकासा गरी वितरण गरेको थियो ।
वडास्तरमा सामाजिक सुरक्षा र स्वास्थ्य शिविर सञ्चालनले जेष्ठ नागरिकमा खुसीयाली थपिएको पालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य शिविर सहितको शिविर माघ ७ गते वडा नम्बर ६ बाट सुरु भई माघ १५ गते वडा नम्बर ८ मा आएर सकिएको हो । बगनासकाली गाउँपालिकाले प्रत्येक त्रैमासिकमा वडा तहमा पुगेर शिविर सञ्चालनलाई निरन्तरता दिँदै आएको जनाएको छ ।